• १३ पुस २०८१, शनिबार

बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

blog

फाइल तस्बिर

चितवन, असोज २७ गते।चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन। हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। 

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो। 

धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिन्चोक बिबिआर जेभी’ले बोलपत्र सकाएर काम गरिरहेको छ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ। मैदानको माथिल्लो तह फालेर काम थालिएको छ। गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो। 

वि.सं. २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो। रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले ५० करोड विनियोजन गरेका छन्।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ। चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताउनुभयो। काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इन्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ।