• ३० असोज २०८१, बुधबार

चिताएको पूरा गर्ने बिजुलीकोट देउता (फोटो फिचर)

blog

ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित रहेको ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट देउता नचाउँदै पुजारी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २७ गते । प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ । 

यहाँस्थित (बिजुलीकोटका देउता) खड्ग भगवती देवीसँग मनले मागेका सबै कुरा पूरा हुने जनविश्वास रहिआएको छ । हरेक रामनवमीका दिनमा खड्ग भगवती देवीलाई कोटघरबाट बाहिर निकालेर मौलोको परिक्रमा गराएर दर्शनार्थीलाई दर्शन गर्नका लागि दिनभर मौलोमा राख्ने प्रचलन रहेको छ । 

दुईवटा तरवार आकारका वस्तुमा बाहिरबाट सुन र चाँदीले लेपन गरेका देउतालाई यहाँस्थित पुजारीले हातमा लिएर देउता नचाउने प्रचलन रहेको छ । यहाँका देउता पुजारीको हातबाट आफै दायाँबायाँ घुम्ने र नाच्ने गर्दछ ।

परम्पराकालदेखि नै बिजुलीकोटमा मूल पुजारी मगर जातिका व्यक्ति रहने गरेका छन् । दसैँ टीकाको भोलिपल्ट एकादसीका दिनमा बाजागाजासहित परम्पराकालका तरवार लगायतका हतियार हातमा लिएर सरायँ खेल्ने प्रचलन रहेको छ ।

नवमीका दिनमा दर्शनार्थीले भाकल गरी ल्याएका सयौँ बोका, दर्जनौँ राँगाको बलि चढाइने र परेवा उडाइने प्रचलन रहिआएको छ । मेला भर्नका लागि जिल्लाका विभिन्न स्थान, छिमेकी जिल्ला अर्घाखाँची, दाङ, कपिलवस्तु लगायतबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् ।