• २६ असोज २०८१, शनिबार

नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न

blog

भक्तपुर,  असोज २६ गते ।  विजयादशमीको घटस्थापनादेखि महानवमीको मध्यरातिसम्म भक्तपुरको टोलटोलबाट नवदुर्गाका नौवटा मन्दिरमा गएर राति मनाइने नवरात्रि जात्रा आज बिहानदेखि सम्पन्न भएको छ ।

नवरात्रभर भक्तपुरका बासिन्दाले विशेषगरी अष्टमातृकाको पूजागरी बलि दिने परम्पराअनुसार घटस्थापनादेखि रातभर जात्रा मनाइने परम्पराअनुरूप आज बिहानबाट जात्रा सम्पन्न भएको हो । 

घटस्थापनाको रात ब्रह्मायणी, दोस्रो रात महेश्वरी, तेस्रो रात कुमारी, चौथो रात भद्रकाली, पाँचौँ रात बाराही, छैटौँ रात इन्द्रायणी, सातौँ रात चामुण्डा एवं महाकाली, आठौँ रात महालक्ष्मी जात्रा मनाइएको छ भने नवौँ रात त्रिपुरासुन्दरीको पूजा एवं आराधना गरी जात्रा मनाइएको छ ।

साँझ परेपछि भक्तपुरका टोलटोलबाट परम्परागत बाजागाजाका साथ सुरु हुने यो जात्रा मनाउँदै यहाँका बासिन्दाले मन्दिर आसपासका क्षेत्र र मन्दिर प्रवेश गर्ने बाटोमा समेत दियो बालेर झिलीमिली बनाउँदै मिधे तथा बासुरी बाजा बजाउँदै टोलटोलबाट स्थानीय मन्दिर पुगेर पूजा एवं दर्शन गर्ने परम्परा रहँदै आएको छ । नवरात्रिभर भक्तपुरका विभिन्न मन्दिरमा बिहान र दिउँसो मात्र नभई राति पनि विशेष भीड लाग्ने गर्दछ । 

संस्कृतिकर्मी ओम धौभडेलले लिच्छवीकालीन राजा आनन्ददेवले भादगाउँको सुरक्षाका लागि मध्यभागमा त्रिपुरासुन्दरी र चारैतिर अष्टमातृकादेवीको स्थापना गरिएको कथन सुनाउनुभयो । 

विजयादशमीमा प्रत्येक रात भक्तपुरका बासिन्दाले परम्परागत रूपमा बाजागाजासहित शक्तिपीठमा गएर जात्रा मनाउने गर्दछन् । हरेक दिन बिहान खोलामा गएर हातमुख धोएर शुद्ध मनले अष्टमातृकाको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भक्तपुरमा रही अष्टमातृकाले एकैस्वरूप लिइ महिषासुरको बध गरेकाले शक्तिका रूपमा देवीहरूको राति पूजा गरिँदै आएको कथन छ । रासस