• २६ असोज २०८१, शनिबार

महिला समूहले बिक्री गरे १२ लाखको खसी-बोका

blog

कालीगण्डकी–२ का कानूङ स्वावलम्बी महिला समूहका अध्यक्ष ज्योति झेंडी बाख्राको तौल लिनु हुँदै । तस्विरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, असोज २५ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा गठन भएका दुई महिला स्वावलम्वी कृषक समूहले १२ लाख रुपियाँ बराबरको खसी-बोका बिक्री गरेका छन् । 

समूहका सदस्यहरुले पाल्दैआएका खसी-बोका दसैँको अवसर पारेर बिक्री गरेका हुन् । उनीहरुले गाउँमा खसी-बोका जोखेर बेचेका हुन् । अनुमान्का भरमा आफ्नो खसी-बोका बेच्दै आइरहेका कालीगण्डकीका किसानहरु जोखेर बास्तविक तौलका आधारमा बेच्न पाएको भन्दै खुसी भएका हुन् । 

बोकाको तौल गर्दै गर्नुभएकी किसान ज्योती झेडीले भन्नुभयो, “खरिद गर्न घरमा नै आएका व्यक्तिले अनुमान्का भरमा तौल यति र उति भन्थे हामीले त्यही भरमा बिक्री गर्दथ्यौं, अहिले जोखेर बेच्न पायौँ बल्ल उचित मुल्य पाएको महशुस भएको छ, सारै खुसी छु ।” 

कानुङ स्वावलम्बी महिला समूहका अध्यक्ष समेत रहनुभएकी ज्योतिले एकै पटक बाख्रा बिक्री गर्न पाउँदा आफूहरु उत्साहित भएको बताउनुभयो । कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘कृषि तथा पशु उद्यमशीलता विकास परियोजना’ अन्तर्गत गाउँका किसानले उत्पादन गरेका खसी-बोका जोखेर बेच्न थालेका छन् । 

जोखेर खसी-बोका बिक्री हुँदा किसानले उचित मूल्य पाउने र व्यापारीलाई पनि घाटा नहुने भन्दै यस्तो व्यवस्था गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानले मेहनतका साथ गुणस्तरीय उत्पादन गर्नु पर्दछ र उत्पादित वस्तुले उचित मूल्य पाउनु पर्छ भनेर पालिकाले सामुहिक र बैज्ञानिक बजारीकरणमा सहयोग गर्दै आइरहेको छ ।”

कालीगण्डकी गाउँपालिकामा उत्पादित खसी, बोका, बाख्राहरु जिउदो तौल प्रणालीमा विक्री गर्ने परिपाटी बसाउन सकियो भने उत्पादनले तीव्रता पाउने वडा नं. २ का अध्यक्ष खगीसरा आलेको भनाइ छ । 

कालीगण्डकी गाउँपालिकामा दुई चरणमा गरी ६० वटा खसी बोक्रा विक्री भएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोख्रेलले जानकारी दिनुभयो । यो बिक्रीबाट पालिकाका किसानले १२ लाखभन्दा धेरै आम्दानी गरेका छन् ।