• २४ असोज २०८१, बिहिबार

दसैँघरमा फूलपाती भित्र्याइयो

blog

फूलपाती भित्र्याइयो तस्बिर मनोज रत्न शाह

काठमाडौँ, असोज २४ गते । नवरात्रिको सातौँ दिन आज फूलपातीका दिन दुर्गापीठ, दसैँघर, कोत तथा घर-घरमा फूलपाती भित्र्याइएको छ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ । 

हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ राज्यमाथि विजय प्राप्त गरेदेखि नै यो परम्परा छ । यसै दिन रात्रिमा कालरात्रि देवीको पूजा गरिन्छ । यिनै देवीले रक्तबीज नामक दैत्यको संहार गर्नुभएको किंवदन्ती छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।