• २१ असोज २०८१, सोमबार

मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ अभाव

blog

मेची राजमार्गअन्तर्गत इलामको माइखोला पुलमा झापाबाट आएर बसेका यात्रु र सवारी । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २१ गते । झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । 

इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र विल्याँटेस्थित पेट्रोलपम्प हिजोदेखि सवारी साधनलाई तेल दिन छोडेका छन् । मोटरसाइकल तथा साना सवारीमा प्रयोग हुने पेट्रोल दुई दिन यता सक्किएको र डिजेल पनि नभएको पेट्रोलपम्प सञ्चालकले जनाएका छन् । 

आजसम्म जसोतसो गाडी सञ्चालन भए पनि आज बेलुकासम्ममा वैकल्पिक उपाय नभए पेट्रोलियम पदार्थको पूर्ण अभाव हुने इलामस्थित पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका कार्यालय सचिव सुमन काफ्लेले बताउनुभयो । तेल अभाव हुँदा गाउँ जाने सवारीलाई समस्या हुन थालेको छ । 

‘झापा, फिक्कल हुँदैआउने सवारीले उतैबाट तेल भरेर आउँछन्, तर माइखोला वारी नै सञ्चालन हुने सवारीलाई भने समस्या छ’ काफ्लेले भन्नुभयो, ‘सिमल गोलाइको बाटो खुल्यो भने केही सहज होला नत्र बिरामी बोकेर हिँड्ने सवारीलाई समेत तल नहुँदा अप्ठ्यारो छ ।’