ललित बसेल
सुर्खेत, असोज २१ गते । भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युत्विहीन रहेका छन् । डोल्पाका छ वटा, हुम्लाका चार वटा र मुगुका तीन वटा गरी १३ वटा पालिकामा अझै बिजुली पुग्न सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार आगामी डेढ वर्ष बिजुली पुग्न नसकेका पालिकामा बिजुली पु¥याइसक्ने र त्यसपछि कर्णाली पूर्ण विद्युतीकरण प्रदेश बनाउने गरी काम भइरहेको छ । विद्युत् पुग्न नसकेको डोल्पाको डोल्पोबुद्ध, से फोक्सुन्डो, जगदुल्ला, मुड्केचुला, काइके र छार्काताङसोक गाउँपालिका, हुम्लाको सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ, सोरू र खत्याड गाउँपालिका रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक शम्भु कुसियत यादवले कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये १३ वटा पालिका अझै पनि बिजुलीविहीन भएको बताउनुभयो । केही अन्य पालिकामा विद्युत् प्रसारण लाइन पुगिसकेको जानकारी दिँदै उहाँले लाइन पुगेको पालिकामा विद्युत् दिने तयारी भइरहेको बताउनुभयो । उहाँले अबको डेढ वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरण बनाउने तयारी पनि भइरहेको दाबी पनि गर्नुभयो ।
उहाँका अनुसार ठेक्का खोलेर सामान पु¥याउने काम भइरहेको र सामान पुगेका स्थानमा जडानको काम पनि भइरहेकाले अबको डेढ वर्षभित्र कर्णालीका सबै पालिकामा विद्युत् पुग्ने छ । एसियन इन्फ्रास्ट्रक्चर बैङ्क (एआईबी) बाट करिब १२ अर्ब रुपियाँको ठेक्का लगाइएको बताउनुभयो ।
विद्युत् नपुगेका स्थानमा लघुजलविद्युत र सौर्य ऊर्जाबाट उज्यालो उपभोग गर्ने काम भइरहेको छ । कर्णालीमा विद्युतीकरण गर्न निकै चुनौती रहेको प्राधिकरणले जनाएको छ । कठिन भूगोल, सामानको ढुवानी महँगो, सामान तथा उपकरण पु¥याउने सकस, सडक पुग्न नसकेको अवस्था, जनशक्तिको कमी, तराईबाट कामदार लिनुपर्ने जस्ता विविध चुनौती भोग्नु परेको उहाँको भनाइ छ । यसका साथै कर्णालीमा वर्ष दिनमा चार/पाँच महिना मात्र काम गर्ने अवस्था रहने भएकाले सोचे जति काम गर्न नसकिएको यादवले बताउनुभयो । बर्सातमा पानी र हिउँदमा हिउँले गर्दा काम गर्न कठिन हुने उहाँको भनाइ छ ।
सत्तरी प्रतिशत घरधुरीमा विजुली
यसैबिच कर्णालीमा ७४ प्रतिशत विद्युतीकरण भएको छ । यहाँको तीन लाख ८० हजार घरधुरीमध्ये दुई लाख ८० हजार घरधुरीमा विद्युत् लाइन पुगेको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालयका अनुसार सबैभन्दा धेरै विद्युतीकरण रुकुमपश्चिममा भएको छ । त्यहाँ ९४ प्रतिशत घरधुरीमा विद्युत्को लाइन पुगेको छ । प्राधिकरणको विद्युत्, लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युतीकरण भएपछि यो अवस्था भएको निर्देशक यादवले बताउनुभयो । रुकुमपश्चिमपछि प्रदेश राजधानी सुर्खेतमा ८३.३४ प्रतिशत, दैलेख ७९.२९ प्रतिशत र सल्यान ७७.२२ प्रतिशत विद्युत् लाइन विस्तार भएको छ ।
यसै गरी कालीकोट ६९.६१ प्रतिशत, जुम्लामा ५६.७७ प्रतिशत, जाजरकोट ४४.७८ प्रतिशत, डोल्पामा ३९.३२ प्रतिशत, मुगु ३३.१६ प्रतिशत र सबैभन्दा कम हुम्लामा २४.७६ प्रतिशत विद्युत् लाइन विस्तार भएको छ ।
निर्देशक यादवका अनुसार विद्युत् प्राधिकरणको विद्युत्बाट दुई लाख ७९ हजार ७८ घरधुरी, लघुजलविद्युत्बाट ३५ हजार ६९८ घरधुरी र सौर्य ऊर्जाबाट दुई लाख ४४ हजार ३४४ घरधुरी गरी तीन लाख ७७ हजार १३३ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् ।