• २२ असोज २०८१, मङ्गलबार

अल्झेको धागोले दिएको खुसी !

blog

२०८१ सालको दसैँ सुरु भइसकेको छ, आश्विन शुक्लप्रतिपदाका दिन घर घरमा जमरा राखेर घटस्थापना गरेपछि नवरात्रि अर्थात् नौरथा प्रारम्भ हुन्छ अनि दसैँ लाग्छ । हिजोआज हाम्रो यो मुख्य चाडको मौलिकता मात्र हराएको छैन, नामसमेत बदलेका छन् मान्छेले जानेर वा नजानेर । प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको चाड दसैँलाई आजकाल विजयादशमी भन्छन् अनि काग तिहारदेखि सुरु भएर भाइटीकासम्मको पाँच दिनको यमपञ्चक (तिहार) लाई मात्र दीपावली भन्न थालेका छन् ।

यति मात्र होइन, त्योबेलाको जस्तो रौनक, उत्साह, उमङ्ग पनि हुँदैन आजकाल यी ठुला चाडमा । बरु दसैँ लाग्नासाथ ४०–४५ वर्षपहिले पूर्वी नेपालको पहाडी जिल्ला पाँचथरस्थित मालबासेगाउँमा देखेको, भोगेको त्यो दसैँ सम्झेर नै मन प्रफुल्ल हुन्छ, स्मृतिरमण (नोस्टाल्जिक) भइन्छ । चाड त त्यही हो तर स्थान, समय, परिवेश सबै बदलियो । त्यो बेला तनाव, अभाव र दबाब केही हुन्थेन ।   

म छ/सात वर्षको हुँदो हुँ, भर्खर स्कुल जान थालेको । स्कुल निम्नमाध्यमिक तहको थियो सुरुमा अर्थात् कक्षा ८ सम्म । घरबाट आधा घण्टाको बाटो थियो मेदिबुङमा रहेको स्कुल पुग्न । थर्पु गाउँ पञ्चायतमा पथ्र्यो हाम्रो घर अनि स्कुल । दसैँ लागेपछि हुने लामो छुट्टीले हामी केटाकेटीलाई बेग्लै रमाइलो हुन्थ्यो । ‘छुट्टी बाख्राको खुट्टी’ भन्दै उफ्रिन्थ्यौँ । अर्थ चाहिँ के थियो अझै थाहा छैन । 

बर्खा सकिएपछिको मौसम सफा हुन्थ्यो, घमाइलो हुन्थ्यो, घरको जुठेल्नोबाटै देखिने कुम्भकर्ण हिमाल बिहानै हाँसिरहेको देखिन्थ्यो । झन् बिहानको कलिलो घामले त त्यो लाजले रातो भएकी बेहुली झैँ हुन्थ्यो । अनि सँगसँगै घरको माथिल्लो पाखामा घाम लाग्दा हामी भन्थ्यौँ, “गौरीका पाखामा घाम लागे, ओक्ले बुढो काम लागे ।” यसको पनि अर्थ थाहा छैन । जे सुनियो, त्यही बोल्यो हिँड्यो, क्या बिन्दास ! बालापनको रमाइलो यस्तै त हो । 

नौरथा लाग्नासाथ गाउँका बाटाघाटाको झार उखेल्ने, सफा गर्ने काम हुन्थ्यो । कुटो, कोदालो, झम्पल, हँसिया, खुकुरी जस्ता कृषि औजार बोकेर घरलौरी जेठाबाठा (पुरुषवर्ग) बाहिर निस्कन्थे । माथि गौरीका पाखाबाट तल झर्थे, त्यो पनि बाजागाजा दमाहा (ढोलक) बजाएर गीत गाउँदै, हल्ला गर्दै । महिलावर्ग भने घरलाई रातोमाटो र कमेरोले पोतेर टिलिक्क पार्न लाग्थे । घरअगाडिको बाटोको झार उखेली सफा गरेपछि पर डाँडामा अग्ला अग्ला बाँस गाडेर बाबियोको डोरीले लिङ्गे पिङ बनाइन्थ्यो । घरमा आमा, दिदी, भाउजूहरू बिहानैदेखि ढिकीमा व्यस्त हुने । कोही ढिकिच्याउँ ढिकिच्याउँ गर्दै चिउरा कुट्ने, कोही हातो समाएर जाँतो घुमाउने । अनि कोही दिउँसोतिर घरका सबैका लुगाफाटा, ओढ्ने ओछ्याउनेका खोल जम्मा गरेर पँधेरोमा लगेर ठुलो खँड्कुलोमा खरानी हालेर पानीमा पकाउने । खरानीमा पकाएर धुँदा आजकाल वासिङ मेसिनमा एरियल सर्फ राखेर धोएकोभन्दा राम्रो काम हुन्थ्यो सायद ! धुन भने पाखुरी निकै बजाउनुपर्ने । ढुङ्गामा राखेर काठको मुङ्ग्रोले पिटेर चिनोरी चौर, पाखामा सुकाउँदा पाखा नै रमाइला हुन्थे । आफूले पनि त्यहीबेला घाममा नुहाउने हो तर अहिलेको जस्तो तौलियाले पुछ्ने चलन थिएन, घाममा बसेर सुकाउने जिउ सुकाउने !!! आहा क्या रमाइलो !

हाम्रो घरमुनि कटहरको रुख थियो, मज्जाले फल्थ्यो पनि । कटहर प्रायः साउन/भदौमा सकिने भए पनि मधेश (विराटनगर) मा हुने दाजुहरूलाई दसैँमा पहाड घर जाँदा आफ्नै बारीको कटहर खान पुगोस् भनेर बा, ठुलदाजुहरूले रुखमै डोको बाँधेर अड्याउनुहुन्थ्यो, जसले गर्दा कटहर पाकेर झरिहालेमा त्यही डोकोमा रहिरहन्थ्यो । दसैँमा जानेले त्यो मज्जाले खान पाउँथे ।

असार, साउनमा हाम्रो लमनसिँगे, कैदलेलगायतका खेतका गरामा रोपेको धान मज्जाले झुलिसकेको हुन्थ्यो । पहेँला बाला हावासँगै लरबरी खेल्थे । आँगनीछेउ र बारीका कान्लाभरि सयपत्री, बाबरी, गोदावरी र मखमली फूल फुल्न सुरु हुन्थ्यो । बारीको पाटाभरि पहेँलपुर भएर तोरी फुल्थ्यो, करेसाबारीमा रायो साग लहलह हुन्थ्यो । शरद ऋतुको यो मौसम र वातावरण नै साह्रै रोमाञ्चक हुन्थ्यो । 

त्यति मात्र कहाँ हो र ? नयाँ नयाँ नाना लाउने त्यहीबेला त हो ! त्यो पनि स्कुलभन्दा परको गाउँमा दमाईं दाइको घरमै गएर लुगा छेकाउनु क्या मजा । छेकाउनु भनेको बुझिँदैन, अहिले नाप्नु भन्नु पर्छ । दसैँको टीका आउनु दुई÷तीन दिनअघि मात्र पाइन्थ्यो सिलाएको नयाँ लुगा । त्यो कुर्नु दुई/तीन वर्ष जस्तै हुन्थ्यो । सिलाएको नयाँ लुगामा धागोको टुक्रो भए मात्र नयाँ जस्तो लाग्थ्यो ! धागोको टुक्राले दिएको रमाइलो !

पर स्कुल जाने बाटोको डाँडोमा लिङ्गेपिङ बनाइएको हुन्थ्यो । डाँडाघरे लच्छुदाइ (जो पाँच/छ हप्ताअघि बिर्तामोडमा ९२ वर्षमा बित्नुभो) र तल्लाघरका दाइहरू एउटा खुट्टा उचाल्दै सररर ! चच हुई ! भन्दै बेस्सरी पिङ मच्चाउँथे । हामी भुराभुरीलाई भने त्यो पिङ खेल्न निकै कुर्नु पथ्र्याे । एक्लै त चढ्न पनि अलि गाह्रै हुन्थ्यो !

सायद नवमीको दिनमा होला, माथि गौरीका पाखामाथिको ठुलो मैदानमा ‘मौलो पूजा एवं विशेष निसान’ को रमाइलो हुन्थ्यो । अहिले थाहा भयो, पाँचथरमा लिम्बू जातिको बाहुल्य भएकाले श्रीजङ्गा र सिरिकम्फु नामको निसान निकाल्दा रहेछन् त्यो थर्पुडाँडामा । हाल त्यस ठाउँमा याङवाराक गाउँपालिका भवन, पोखरी, ऐतिहासिक मौलो र निसानी सङ्ग्रह गरेर राखिएका छन् । ती निसान लिम्बू र सुब्बाबाहेक अरूले पूजा र प्रदर्शन नगर्ने रहेछन् । त्यसबेला चाहिँ निसान देखाउँदै घुम्ने दुई समूहको जम्काभेट भएमा काटमार हुन्छ भनेको सुन्थेँ । जे होस्, हामी भने त्यो मौलो हेर्न जान्थ्यौँ, ठुलो मेला (बजार) लाग्थ्यो त्यस परिसरमा । 

हामी उपाध्याय बाहुन भएकाले हाम्रा घरमा काटमार चल्दैनथ्यो । बा (पिताजी) पूजाआजा र न्यासध्यान नियमित गर्नु हुन्थ्यो । म त्यो पूजाका लागि आवश्यक सामग्री जुटाउन र भाँडा सफा गर्न सघाउँथे । पुजा सक्ने बेला बाले जोडसँग शङ्ख बजाउनु हुन्थ्यो । हामी बसाइँ सरेर मधेश (विराटनगर) झरेपछि पनि बुवा छउन्जेल यो कर्म नियमित रह्यो । मारकाट नचलेपछि दसैँमा लौका वा घिरौँलालाई चार कप्टेराको खुट्टा लाएर मार हानेको अहिले पनि याद छ । 

टीकाको दिन जसलाई विजयादशमी भनिन्छ, बिहानैदेखि दमाईं दाइले सिलाएको नयाँ लुगा लाइन्थ्यो । मलाई भने त्यो लुगामा धागोको टुक्रो हुनै पथ्र्यो नयाँको प्रमाणका लागि । अनि निधारमा टीका लाउँदा टीकाको रातो रङ वा अक्षता त्यो लुगामा पनि लागेको खुब मन पथ्र्यो । घरमा बुवाआमासँग टीका लाएर डाँडाघर, पँधेरेघर, तल्लाघर, बाटाघरका काकाहरूकोमा टीका लाउन गइन्थ्यो । मामाघर त एक दिनको बाटो टाढा (तेह्रथुम कोयाखोला) थियो । त्यो गाउँमा हाम्रो घर सिरानमा (सबैभन्दा माथि) भएकाले हामी सिरानघरे भनेर चिनिन्छौँ अहिलेसम्म पनि । त्यो सिरानघर २०३७ सालमा बेचेर हामी मधेश (विराटनगर) झ¥यौँ । त्यो रमाइलो दसैंको वातावरण पनि छोडियो । विराटनगरमा त्यस्तो रमाइलो भएन बरु एक/दुई वर्षबिचमै केही दुःखद वज्रपात भए ।

त्यसपछि अनेक कारणले त्यो गाउँ जान सकिएन । सम्झना भने जहिले पनि मनभरि । पढाइ सकेर अर्धसरकारी जागिरको मध्यविन्दुमा पुगेपछि भने छोडेको ३० वर्षपछि २०६८ सालमा पुनः गाउँ टेकियो । त्यसबेला पाँच दिन पैदल हिँडेर इलाम बजारमा बल्ल मोटरगाडी देखिन्थ्यो । ३० वर्षपछि घरमाथिसम्म निजी सवारी पनि जान सक्ने भएछ तर १० बर्से सशस्त्र द्वन्द्वले अधिकांश मान्छे गाउँबाट विस्थापित । २०८० सालमा पुनः जाँदा त मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कालोपत्रे सडक त हाम्रो त्यो घरमाथिको भित्तोबाट पो जाँदो रहेछ दारिम्बासम्म । ओयाम, च्याङथापु हुँदै चिवाभन्ज्याङसम्म चाहिँ ग्राभेल गरेर पिच गर्न बाँकी थियो तर गाउँमा अब अति थोरै मान्छे बाँकी छन् । सुनसान छ गाउँ । घरको मौलिकता मासिएको छ । तिम्सिनाको त्यो गाउँबस्तीमा जम्मा एक घर तिम्सिना बाँकी भेटिए । अरू कि विदेशतिर कि त झापा र काठमाडौँतिर ।  

Author

मदन तिम्सिना