• २९ कात्तिक २०८१, बिहिबार

आवागमनले लय समात्दै

blog

गत हप्ता तीन दिनसम्म लगातार भएको मुसलधारे वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकभरको जनजीवन एकसाथ अस्तव्यस्त बनाउँदा उद्धार कार्यमा समेत कठिनाइ भयो । बाढी, पहिरो र डुबानमा परेर २५० जनाभन्दा बढीको ज्यान जानुका साथै करिब १८ अर्ब रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान छ । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा यो अवधिमा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी, पहिरो र डुबानमा परेर काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, धनकुटालगायतका जिल्लामा जनधनको ठुलो क्षति हुन पुग्यो । राजमार्गमा गुडिरहेका यातायातका साधन पहिरोमा पुरिएर, बगेर, राति सुतिरहेको अवस्थामा घरमा बाढी पसेर तथा पहिरोमा घर नै पुरिए । अवरुद्ध सडकमध्ये अधिकांश सडक खुलेका भए पनि मनसुनी प्रभाव अद्यापि कायमै रहेकाले निस्फिक्री यात्रा गर्ने अवस्था बनिसकेको छैन ।

आमनेपालीले उल्लासमय वातावरणमा मनाउने दसैँ, तिहार, छठ जस्ता ठुला चाडपर्वको पूर्वसन्ध्यामा आएको विपत्तिले राजमार्गहरू अवरुद्ध हुँदा पारिवारिक मिलन कुरेर बसेकाहरू निराश हुनु स्वाभाविक हो । दसैँमा बर्सेनि १६/१७ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको विगतको तथ्याङ्क छ । उपत्यकाबाट बाहिरिने सडकमध्ये अधिकांश सडक अवरुद्ध हुँदा विकल्प हवाई यातायातले पनि धान्न सक्ने अवस्था भएन । यद्यपि रात्रिकालीन उडान सम्भव भएका विमानस्थलमा उडान सञ्चालनमा ल्याएर पाँच दिनको अवधिमा करिब ९० हजार यात्रुलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएको छ । विमानस्थल साढे २२ घण्टासम्म सञ्चालनमा ल्याएर पु¥याएको हवाई सेवामा यात्रुले सास्ती भोग्नु परेको अवस्थालाई बिर्सिएर वायुसेवा कम्पनीहरूप्रति आभार प्रकट गरेका छन् । यद्यपि सबैका लागि हवाई सेवा सम्भव हुँदैन ।

सरकारले अवरुद्ध सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए अनुरूप सबैभन्दा महत्वपूर्ण पृथ्वी राजमार्गको अवरोध हटाएर सञ्चालनमा ल्याइयो । यसपछि क्रमशः अन्य वैकल्पिक मार्गको अवरोध पनि हटाइसकिएको छ । वैकल्पिक मार्गसहित यातायात सञ्चालनमा आउन थालेका छन् । यति छिट्टै राजमार्गको अवरोध हटाउन सम्भव नहुने आकलन आमनागरिकले गरेका थिए । सरकारको तदारुकताले मात्र सम्भव भएको हो । विपत् पर्दा एकजुट भएर काम गरियो भने जति नै गाह्रो काम पनि सहज हुने रहेछ भन्ने पुष्टि भएको छ । सवारीसाधन निर्बाध चल्न थालेपछि आवागमन क्रमशः सहज बन्दै गएको अनुभव गरिएको छ ।

सङ्घीय राजधानी काठमाडौँसँग जोडिएका राजमार्ग तथा साना सडकहरू सञ्चालनमा आउन थालेपछि उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढिरहेको छ । सबैभन्दा महत्वपूर्ण पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् । तत्काल सञ्चालनमा आउने अवस्थामा नरहेको बिपी राजमार्गको भने वैकल्पिक उपायको खोजी भइरहेको छ । बिपी राजमार्गको सबभन्दा भरपर्दो विकल्प काठमाडौँ–हेटौँडा जोड्ने सडक बनेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसारकाठमाडौँबाट चन्द्रागिरि–चित्लाङ–पालुङ–भैँसे हुँदै हेटौँडा पुग्ने सडक सञ्चालनमा ल्याइसकिएको छ । त्रिभुवन राजपथको थानकोट–चन्द्रागिरि–चित्लाङ–कुन्छाल–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै पनि हेटौँडा पुग्न सकिने भएको छ । हेटौँडाबाट पूर्वतर्फ जानका लागि प्रयोग गरिने हेटौँडा–सिन्धुली–चतरा–धरान (मदन भण्डारी राजमार्ग) र 

पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेकाले कुनै किसिमको अवरोध नभएको सुरक्षा निकायको भनाइ छ । बाढीले पुल बगाएका स्थानमा नेपाली सेनाले बेलिब्रिज जडान गर्ने कार्य तीव्र बनाएको छ । तत्कालका लागि १०/२० किलोमिटर घुमाउरो पर्नुलाई सामान्य नै मान्नुपर्ने हुन्छ । 

बिपी राजमार्गको अवरुद्ध खण्डको विकल्पको पनि सोही क्षेत्रतर्फबाट खोजी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीबाट तिमाल–खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरेपछि बिपी राजमार्ग भेटिने छोटो दुरीको सडकसमेत शनिबारदेखि सञ्चालनमा आएको जानकारीले पूर्वतर्फ जाने यात्रुलाई राहत अनुभव गराएको छ । राजमार्गहरूको अवरोध हटेर सवारीसाधन चल्ल थालेपछिको यात्रुको खुसीमा यातायात व्यवसायीको मनलाग्दी भाडा असुलीले थप समस्यामा पारेको देखियो । यात्रुको गुनासोप्रति सुरक्षा निकायको तत्काल ध्यान पुगेकोलाई सकारात्मक रूपमा लिइएको छ । यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनलाई पृथ्वी राजमार्ग क्षेत्रमा धादिङ जिल्ला प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालयले छड्के जाँच गरेर दर्जनौँ गाडीलाई कारबाही गरेको पाइएको छ । यस किसिमको अनुगमन कार्यलाई सबै राजमार्गमा विस्तार गरिनु अत्यावश्यक देखिन्छ ।