• २० असोज २०८१, आइतबार

म्याद गुज्रेको सामान राखेका र मापदण्ड पुरा नगरेका पसललाई जरिवाना

blog

पसलको अनुगमन। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असोज २० गते। रुकुमपश्चिममा म्याद गुज्रेको सामान राखेका र कानुनी मापदण्ड पुरा नगरेका व्यवसायीलाई जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा चौरजहारीस्थित बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनको क्रममा केही व्यवसायीलाई जरिवाना गरिएको हो भने म्याद गुज्रेका सामान समेत बरामद गरिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले चौरजहारीका विभिन्न सात वटा व्यवसायको अनुगमन गर्दा मापदण्ड पुरा नगरेका, म्याद गुज्रेको सामान राखेका, आवश्यक कागजात पुरा नगरेका व्यवसायीलाई ३० हजार रुपियाँ जरिवाना गरेको हो। 

चाडबाडको बेलामा हुनसक्ने सम्भावित कालोबजारी नियन्त्रण गर्न, गुणस्तरहीन सामग्रीको विक्री वितरण रोक्न, कानुनी मापदण्डको अवस्था निरीक्षणका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो। उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने गरी उपभोग्य सामाग्री विक्री वितरण गर्न र ठगिनबाट जोगाउन बजार अनुगमन गरिएको उहाँको भनाइ छ। 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओलीले सात वटा पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्य सूची नराखिएको, केहीमा म्याद गुज्रेका सामग्री रहेको, कुनै पसलले दर्ता प्रक्रिया पुरा नगरेको पाइएको जानकारी दिनुभयो। 

अनुगमनको क्रममा कैफियत भेटिएका तीन पसललाई ३० हजार रुपियाँ जरिवाना गरिएको र पाँच हजार ८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रेका दैनिक उपभोग्य सामाग्रीहरू बरामद गरेर नष्ट गरिएको ओलीले जनाउनुभयो। 

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानु कुमार शर्मा, घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, इलाका प्रशासन कार्यालय चौरजहारीका प्रमुख तोषराज केसी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख विनोद चन्द, चौरजहारी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष यदुकुमार आचार्य, नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो।