• २० असोज २०८१, आइतबार

कुलेखानी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडक सुचारु

blog

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको महालक्ष्मी खोला नजिकै सडक सुचारु भएपछि गुड्न थालेका सवारिसाधन ।

राममणि दाहाल

हेटौँडा, असोज २० गते । गत साता आएको बाढीपहिरोपछि क्षतिग्रस्त बनेको हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकको कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्ड सुचारु भएको छ । सिस्नेरी–दक्षिणकाली सडक यसअघि नै सुचारुभएकोमा कुलेखानी–सिस्नेरी सडक खण्ड आइतबार दिउँसोबाट सुचारु भएको हो । 

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले बाढी पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त बनेको कुलेखानी–सिस्नेरी सडक खण्ड खोलामा नयाँ ट्रयाक बनाएर सुचारु गरिएको र यात्रा सुरक्षित बनाउन सम्याउनेलगायतका काम भइरहेको बताउनुभयो । उहाँले भीमफेदी– कुलेखानी–सिस्नेरी सडक खण्डको कुलेखानी ड्याम नजिकै बाढीले बगाएकोले डाइभर्सन निर्माणलाई तीव्रता दिइएको भन्दै डाइभर्सनको काम सकिएसँगै हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकमा सवारी साधन सुचारु हुने बताउनुभयो । 

कुलेखानी ड्याम नजिकै रहेको पुलको पहुँच मार्ग बाढीले बगाएपछि डाइभर्सन निर्माण भइरहेको छ । डाइभर्सन निर्माण भइसकेको र सवारी साधन चलाउँदा हुन्छ पनि उहाँले यात्रा सुरक्षित गर्न हामी ग्रेडिङ मिलाउने लगायतका काम गरिरहेको जानकारी दिनुभयो ।

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग उक्त मार्ग आइतबार साँझबाट सुचारु गर्ने गरी डाइभर्सन निर्माणलाई तीन दिनदेखि तीव्रता दिइएको थियो । तर डाइभर्सन निर्माणमा प्रयोग हुँदै आएको उपकरणमा खराबी आएसँगै डाइभर्सन निर्माणमा ढिलाइ भएको छ । तर चार वटा उपकरण प्रयोग गरी काम भइरहेको दुई वटा उपकरण बिग्रिएपछि एक्साभेटरसहितको उपकरण अभावमा डाइभर्सन निर्माण र खाल्डो पुर्ने काममा अवरोध पुगेको छ । सिस्नेरीतर्फबाट एक्स्काभेटर ल्याएर तीन वटा उपकरण प्रयोग गरी डाइभर्सनको काम भइरहेको छ ।

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला पुल नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो ।

महालक्ष्मी खोला नजिक तलबाट उठाएर सडक शनिबार साँझबाट मोटरसाइकल सञ्चालन गर्न दिइएको छ । काठमाडौँबाट महालक्ष्मी खोला हुँदै आएका मोटरसाइकलहरू कुलेखानी ड्याम हुँदै हेटौँडा आउन दिइएको थियो । 

निर्देशक पोखरेलले आइतबार साँझबाट सवारी साधन सञ्चालन गर्न दिने प्रयासमा रहेको बताउनुभयो । दसैँ सुरु भइसकेकोले सवारी चाप बढेकोले सडक सञ्चालन गर्नै पर्ने बाध्यतामा कारण पनि रहेको उहाँले बताउनुभयो ।