• २० असोज २०८१, आइतबार

राप्रपा महामन्त्री राणालाई गिजाको क्यान्सर

blog

राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा । तस्विरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज २० गते । राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क्रममा डा. राणालाई गिजाको क्यान्सर भएको पुष्टि भएको राणा निकट राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो । 

डा. राणाको लामो समयदेखि गिजा दुख्ने समस्या भएपछि हालैमात्र क्यान्सर भएको देवकोटाले बताउनुभयो । 

राप्रपा सहमहामन्त्री देवकोटाले भन्नुभयो, ‘मेरो आज आइतबार बिहान मात्र डा. राणासँग कुराकानी भयो, पहिलो चरणको क्यान्सर भएकाले सहजै निको हुनेमा उहाँ (राणा) विश्वस्त देखिनुभएको छ ।’ राणाको मुम्बइको पुण्यश्लोक अहिल्यादेवी हल्कर हेड एण्ड नेक क्यान्सर इन्स्टिच्यूट अफ इण्डियामा आउने मङ्गलबार शल्यक्रिया हुने भएको छ । 

डा. राणाले सामाजिक सञ्जालमार्फत मङ्गलबार शल्यक्रिया हुने जानकारी गराउनुभएको छ । डा. राणाले भन्नुभएको छ, ‘म चाँडै राम्रो भएर देश र तपाईहरुको सेवा फर्किने जानकारी गराउँछु ।’

डा. राणाको साथमा उहाँकी पत्नी प्रतिमा राणालगायत रहनुभएको छ । डा. राणाको ससुराली समेत भारतको मध्यप्रदेश राज्यको ग्वालियरमा हो । भारतीय राजनीतिमा प्रभावशाली मानिने सिन्धिया राजपरिवारकी छोरी प्रतिमासँग डा. राणाको विवाह भएको थियो ।  

नेपालगञ्ज स्थायी घर भएका डा. राणा २०७९ को आमनिर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । डा. राणाले  २०५४ देखि ५९ सम्म नेकपा (एमाले) को तर्फबाट नेपालगञ्ज नगरपालिकाको प्रमुख र पुनः २०७४ देखि २०७९ सम्म राप्रपाको तर्फबाट नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।