• २० असोज २०८१, आइतबार

मोबाइल भ्यानबाट खाद्य परीक्षण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २० गते ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेको मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी काठमाडौँको पेप्सीकोला क्षेत्रमा खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका क्रममा कतिपयमा अखाद्य वस्तु फेला परेका छन् । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम पेप्सीकोलाको काभ्रे डेरी, एबी टिपिकल थकाली, गोलोक डेरी, अनुप डेरी, सूर्यमुखी डेरी पसलमा खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमुनाको प्रारम्भिक चेकजाँच गर्दा खाद्यवस्तुमा कतिपयमा कैफियत देखिएको, कतिपयमा नदेखिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । 

छ वर्षदेखि विभागमा थन्किएको सो मोबाइल भ्यानले असोज १६ गतेदेखि सञ्चालनमा आएको थियो । काभ्रे डेरीमा अनुगमनपछि मोबाइल भ्यानको ल्याबमा नमुना परीक्षण गर्दा प्रशोधित दुध र घिउको कैफियत नपाइएको उहाँले जानकारी दिनुभयो । सो डेरीले मनकामना दुध प्रशोधन केन्द्र र कञ्चन डेरीबाट दुध खरिद गर्ने गरेको छ तर सरसफाइको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिए पनि प्रशोधित पिउने पानीको नमुना चेकजाँच गर्दा कैफियत नपाइएको प्रवक्ता महर्जनले बताउनुभयो । बेकरी सर्टेनिङको प्रयोग नगर्न विभागले निर्देशन दिएको छ । गोलोक डेरी र अनुप डेरीमा कच्चा तथा प्रशोधित दुध र घिउको नमुना चेकजाँच गर्दा कैफियत नपाइएको विभागले जनाएको छ । सूर्यमुखी  डेरीमा प्रशोधित दुधको नमुना चेकजाँच गर्दा कैफियत पाइएपछि प्रशोधित दुधको नमुनाको विस्तृत परीक्षणका लागि नमुना सङ्कलन गरी प्रयोगशालामा पठाइएको विभागले जनाएको छ ।