• १९ असोज २०८१, शनिबार

शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ । विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ । 

तर उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ । 

त्यसपछिका विभिन्न औपचारिक तथा अनौपचारिक स्थलमा तत्कालीन शिक्षा मन्त्रीहरूले पनि  पटक पटक स्थानीय तहलाई मासिक तलब प्रदान गर्न निर्देशन दिएका थिए ।