• १८ असोज २०८१, शुक्रबार

सङ्कटामाथि पुलिसको रोमाञ्चक जित

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र सङ्कटाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असोज १८ गते । नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा सङ्कटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो । पुलिसको जितमा अनुस्का शेर्पा र समिक्षा घिमिरेल गोल गर्नुभयो । सङ्कटाका लागि सेलिना अनिमाले सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै पुलिस लिगमा तेस्रो बन्दै दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ । पुलिसले नौ खेलबाट २१ अङ्क बनायो । सङ्कटा यसअघि नै लिगबाट बाहिरिएको छ । नौ खेलमा आठ अङ्क बनाएको सङ्कटा तालिकाको सातौँ स्थानमा रह्यो । 

नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीले भाग लिएका थिए । जसबाट सुपर लिगमा स्थान बनाउनेमा पुलिससँगै नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश रहेको छ । 

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।