• ११ मंसिर २०८१, मङ्गलबार

सूचना प्रविधि हब प्राथमिकतामा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

बनेपा समाचारदाता

बनेपा, असोज १७ गते  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको बुधबार उद्घाटन गर्दै उहाँले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको हो । 

“दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिनु पर्छ र सरकारको नीति तथा कार्यव्रmम पनि त्यही दिशामा अघि बढ्नु पर्छ,” उहाँले भन्नुभयो । उहाँले सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटमा उल्लेख भएबमोजिम ललितपुरको खुमलटारमा सूचना प्रविधि हब र ज्ञान पार्क स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

“ललितपुरमा स्थापना हुने सूचना प्रविधि हब र ज्ञान पार्क सूचना प्रविधि दशक कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने छन्, सरकार विस्तृत कार्यान्वयन योजना बनाउने प्रव्रिmयामा छ,” मन्त्री गुरुङले भन्नुभयो । नेपालले डिजिटल पूर्वाधार सुधार गर्न महìवपूर्ण प्रयास गरेको उल्लेख गर्दै उहाँले दूरसञ्चार सञ्जालको विस्तार, मोबाइल उपकरण र इन्टरनेट तथा डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगले सञ्चार र सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न मद्दत गर्ने बताउनुभयो । 

मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै मन्त्री गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिका लागि मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० तर्जुमा गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरेको, सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोगका लागि सामाजिक सञ्जाल नियमन विधेयक तयार भइरहेको बताउनुभयो ।

“मन्त्रालयले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोग र अभ्याससम्बन्धी अवधारणापत्र प्रकाशित गरेको छ, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र नागरिक एपको एकीकरण जनतामा ई सेवाको राम्रो पहुँचका लागि सरकारको उच्च प्राथमिकता रहेको छ,” उहाँले भन्नुभयो । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई कसरी अवसरमा बदल्ने भन्ने आजको प्रमुख बहसको विषय रहेको बताउनुभयो । 

युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलाजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताबारे र सोही संस्थाको स्कुल अफल पब्लिक एड्मिनिस्टे«सनका भाइस डिन प्राध्यापक हु जुनले दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकासको महìवबारे चर्चा गर्नुभएको थियो ।

सङ्गोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्त राज्य अमेरिकालगायतका मुलुकका प्राज्ञिक व्यक्तिहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सङ्गोष्ठीमा करिब एक सय वटा विभिन्न विषयको कार्यपत्र प्रस्तुत हुने काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।