• १५ असोज २०८१, मङ्गलबार

कलाकारको सहयोगार्थ साङ्गीतिक साँझ

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, असोज १५ गते । गायक रामचन्द्र चन्दको सहयोगार्थ राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको छ । गुल्मी कलाकार समाजले ‘रामचन्द्र चन्द विशेष साङ्गीतिक कार्यक्रम एवं विजयादशमीको शुभकाना आदानप्रदान’ सोमबार सम्पन्न गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गायक रामचन्द्रको उपचार सहयोगका लागि आयोजित सो साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

सो अवसरमा गायक चन्दले गुल्मी हो नाम, आमा तिम्रो दुधको भारा, भिरमा रुँदै छुलगायत दर्जनौँ लोकभाका प्रस्तुत गर्नुभयो । साङ्गीतिक कार्यक्रममा वाद्यवादक कमल विक, रत्न विक, भूपेन्द्र रसाइली, धर्म गन्धर्भ, सुरज प्रधान, अनुप दास र दिनेश रेग्मी, भरत बुढाथोकी, मेघराज लुङ्गेलीलगायतले गायक चन्दलाई साथ दिनुभएको थियो । गायक/गायिका प्रसाद खप्तडीमगर, टीका पुनलगायतले पनि गायक चन्दलाई गायनमा साथ दिनुभयो । 

कार्यक्रममा गायक चन्द र अन्य गायक/गायिकाले दर्शक श्रोतालाई लोकभाकाका गीतमार्फत मनोरञ्जन दिनुभयो । गुल्मी जिल्ला, मदाने अग्लुङका गायक रामचन्द्र चन्दलाई कोरोना–१९ सङ्क्रमणपछि दुवै हिपको हड्डी खिइने समस्या भएको छ । कार्यक्रमका संयोजक मञ्जु पौडेलले गायक चन्दको उपचारका लागि आवश्यक आर्थिक रकम सङ्कलन गर्न साङ्गीतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

संयोजक पौडेलले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट गायक रामचन्द्र चन्दको उपचारका लागि आवश्यक रकम सङ्कलन गर्न सकिने अवस्था भए पनि गायक चन्दले त्यस्तो सहयोग अस्वीकार गर्नुभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गायक आफैँले म अरूको सहयोग त्यत्तिकै लिन्नँ, मसँग भएको गायन प्रतिभाबाट दर्शक/श्रोता, शुभचिन्तक र आफ्ना अग्रज, साथीभाइलाई मनोरञ्जन दिलाउँदै सहयोग पाउँछु भने लिन्छु भनेर साङ्गीतिक कार्यक्रममा उपस्थित हुन सहमत भए अनुसार कार्यक्रम आयोजना गरिएको हो ।” गुल्मी कलाकार समाजका निवर्तमान अध्यक्ष बमबहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा गायक रामचन्द्र चन्दको जीवनीसम्बन्धी छोटो भिडियो प्रस्तुत गरिएको थियो ।