• १५ असोज २०८१, मङ्गलबार

पनौती जलविद्युत् केन्द्रको उत्पादन बन्द

blog

शनिबार बिहान पहिरोसँगै आएको लेदो र पानी थुप्रिएको पनौती जलविद्युत् केन्द्र । तस्बिर सौजन्य : सविना उप्रेती

बनेपा समाचारदाता 

बनेपा, असोज १५ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र’ को उत्पादन रोकिएको छ । केन्द्रको पावरहाउस पहिरोका कारण शनिबार बिहान २ बजेदखि विद्युत् उत्पादन बन्द भएको हो । 

पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले पहिरोसँगै आएको लेदो र पानीलगायतका सामग्रीले पावरहाउसभित्र रहेका उपकरण डुबेको जानकारी दिनुभयो । 

उहाँले पावरहाउसभित्र रहेका तीन वटा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतको उपकरण डुबेको बताउनुभयो । “अहिले हामी पावर हाउसभित्र रहेका मेसिन तथा उपकरण थप बिग्रन नदिन पानी तथा लेदो सफा गर्ने काम गरिरहेका छौँ,” केन्द्रका प्रमुख उप्रेतीले भन्नुभयो । 

पावरहाउसका साथै बाँधबाट पावरहाउससम्म पानी ल्याउनका लागि बनाइएको क्यानल (कुलो) को विभिन्न स्थानमा समेत पहिरोका कारण क्षति पुगेको उहाँले बताउनुभयो । 

उहाँले बाढीले बाँधमा कुनै क्षति नगरेको जानकारी पाए पनि त्यहाँको स्थलगत अवलोकन गरेपछि मात्रै क्षतिको विस्तृत विवरण आउने बताउनुभयो । 

उहाँले पावरहाउसको काम सकेपछि अन्य क्षतिको विवरण सङ्कलन गरी विद्युत् उत्पादनलगायतको काम गरिने बताउनुभयो । हाल केन्द्रबाट तीन वटा टर्वाइनमध्ये दुई वटा टर्वाइनबाट १.४ मेगावाट विद्युत् हुँदै आएको थियो । 

नेपालको तेस्रो जलविद्युत् आयोजनाका रूपमा रहेको पनैती जलविद्युत् केन्द्र तत्कालीन सोभियत सङ्घको सहयोगमा २७ करोड रुपियाँको लागतमा निर्माण गरिएको थियो । २.४ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको विसं २०२२ साल असार ३१ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्नुभएको थियो ।