• १९ असोज २०८१, शनिबार

देवीका नौ स्वरूप

blog

शक्ति उपासना परम्परा प्राचीन परम्परा हो । यो परम्परामा देवीका विभिन्न स्वरूपको उपासना एवं आराधना गर्ने चलन हाम्रो समाजमा छ । भगवती देवी सर्वव्यापक एकात्मक शक्ति भए पनि उनका विभिन्न स्वरूप उपासनाका लागि प्रयुक्त हुन्छन् । नौरथामा नौ दिनसम्म नवदुर्गा भवानी नौ वटा विभिन्न स्वरूपमा उपासकलाई दर्शन दिन्छिन् भन्ने कथन छ ।

शैलपुत्री

नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा गर्ने परम्परा छ । भगवती देवीको शैलपुत्री नाम कसरी रहन गयो भन्ने विषयमा पुराणमा एक सुन्दर उपाख्यान आउँछ । एक पटक पर्वतराज हिमालयले भगवती देवीलाई प्रसन्न गराउने उद्देश्यले धेरै कालसम्म तपस्या गरे । तपस्याबाट प्रसन्न भएर भगवती देवीले हिमालयलाई आफ्नो इच्छा अनुसारको वर मागभन्दा हिमालयले देवीसँग प्रार्थना गर्दै यदि हजुर ममाथि प्रसन्न हुनुहुन्छ भने मेरो दरबारमा मेरी पुत्रीका रूपमा अवतार ग्रहण गर्नुहोस् भने । भगवतीले हिमालयको प्रार्थनालाई स्वीकार गरी उनकी पुत्रीका रूपमा अवतार लिएकाले उनलाई शैलपुत्री भनिएको हो । संस्कृतमा शैल शब्दको अर्थ हो पर्वत ।

ब्रह्मचारिणी

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी शक्तिको पूजा उपासना गरिन्छ । ब्रह्म शब्दको अर्थ तपस्या हुन्छ । यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रह्मचारिणी भनिएको हो । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको ज्ञान गराउनका लागि निरन्तर लागिरहने हुनाले उनको दोस्रो नाम ब्रह्मचारिणी रहन गयो । यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय हात लाग्दछ ।

चन्द्रघण्टा

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना गरिन्छ । उनले आफ्नो हातमा लिएको घण्टामा चन्द्रमाको आकार हुनाले उनको तेस्रो नाम चन्द्रघण्टा रहन गयो । शास्त्रानुसार हातको घण्टाको आवाजले राक्षसहरू पनि डराउने गर्छन् । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तत्वको प्रतीकका रूपमा लिन सकिने प्रशस्त आधार भेटिन्छ । शरीरलाई व्यावहारिक बनाउन शब्दशक्किो पनि त्यति नै आवश्यकता पर्दछ । रिसाहा स्वभाव भएकी यी देवीको पूजा गर्नाले घण्टाको ध्वनिको आवाज भक्तको कानमा परिहाल्छ । यी देवीको उपासना गर्दा परलोकका लागि कल्याण र सद्गति प्राप्त हुन्छ । 

कुष्माण्डा

नवरात्रको चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिन्डो अर्थात् वनस्पति जगत्को प्रतिनिधिस्वरूप हो । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रह्माण्डको सृष्टि र प्रलय हुने भएकाले उनलाई कुष्माण्डा भनिएको हो । सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव देवीकै कृपाले उत्पन्न भएको हो भन्ने कुरा पौराणिक मान्यता रहेको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचुरुङ्गी, तथा शीत रक्तसमूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

स्कन्दमाता

उनको पाँचौँ नाम स्कन्दमाता कसरी रहन गयो भन्ने कुरामा एउटा सुन्दर अर्को उपाख्यान पनि जोडिन पुगेको छ । एक पटक भगवान् शङ्कर र भगवती पार्वती ऋषिहरूको सभामा जाँदा ऋषिहरू उठेर भगवान् शङ्करको स्वागत गरे परन्तु सनतकुमार आफ्नो आफ्नो ध्यानमा मस्त हुनाले उनले भगवान् शङ्करको आगमनलाई नजानेर उठेनन् । भगवती पार्वतीलाई सनतकुमारको त्यो व्यवहार मन परेन । उनले सनतकुमारलाई ‘तिमी उँट बन’ भन्ने श्राप दिइन् । सनतकुमार पार्वतीको श्रापले उँट बन्न पुगे । त्यो घटना पार्वतीले भगवान् शङ्करलाई बताउँदा भगवान् शङ्करले पार्वतीलाई भने, “हेर देवी, ज्ञानीलाई कुनै पनि श्रापले स्पर्श गर्न सक्तैन । उनी उँटको योनिमा पनि आफ्नो ब्रह्मरूपताको ज्ञानले आनन्दमा मस्त छन् । तिमीलाई मेरो कुरामा पत्यार लाग्दैन भने हिँड उहीँ गएर सोधौँ ।” त्यसपछि दुवै जना उँट भेषधारी सनतकुमार भएको ठाउँमा गए । पार्वतीले सनतकुमारलाई सोधिन्, “ऋषिजी तपाईंलाई उँटको 

योनिमा कस्तो अनुभव भएको छ ?” सनतकुमारले उत्तर दिए, “मलाई हजुरले उँटको योनि प्रदान गरेर ममाथि ठूलो अनुग्रह गर्नुभएको छ । भोक लागेको समयमा जङ्गलका काँडा चपाउँछु । आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्दछु । मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव गर्नुपरेको छैन ।”

सनतकुमारबाट यस्तो उत्तर पाएपछि भगवती पार्वतीले ज्यादै प्रभावित भएर सनतकुमारलाई भनिन्, “ऋषिजी तपाईं ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ । यहाँको महत्वलाई नबुझेर मैले यहाँलाई श्राप दिएँ । यसका कारण मलाई ठूलो पश्चात्ताप छ । अब म यहाँलाई आफ्नो पुत्र रूपमा प्राप्त गर्न चाहन्छु । तपाईं मेरो पुत्र भई जन्म लिनुहोस् ।”

भगवती पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले भगवती पार्वतीबाट जन्म ग्रहण गरेकाले उनको नाम स्कन्दमाता रहन गयो । यहाँ स्कन्द शब्दको अर्थ स्वामी कार्तिकेय नभई सनतकुमार हो भन्ने बुझ्नु पर्दछ । किनकि छान्दज्ञोपनिषद्मा सनतकुमार स्कन्द इत्याचक्षत भनी लेखिएको छ ।

कात्यायनी

नवरात्रको छैटौँ दिन पुजिने देवी कात्यायनी हो । कुनै एक समयमा देवताहरूको काम बनाउनका लागि भगवती देवीले कात्यायन ऋषिको आश्रममा अत्यन्त सुन्दर कुमारीका रूपमा अवतार लिइन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले उनलाई आफ्नी पुत्रीका रूपमा स्वीकार गरेको हुनाले उनको छैटौँ नाम कात्यायन रहन गयो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा उल्लेख गरिएको छ ।  यिनको आराधनाबाट सम्पूर्ण सङ्कट नाश हुने विश्वास गरिन्छ । कात्यायनीलाई ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

कालरात्रि

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा उपासना गरिन्छ । सम्पूर्ण प्राणीलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् । अतः उनको नाम कालरात्रि रहन गएको हो । फूलपातीको दिन पूजा गरिने कालरात्रि शक्तिलाई अज्ञान, अन्धकार र मोहनाशक शक्तिका रूपमा लिन सकिन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेतहरू भागेर जान्छन् भनिएको छ । जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्रगति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्दछ त्यो आफैँमा नै प्रस्ट छ ।  

महागौरी

नवरात्रको आठौँ दिन पुजिने देवी महागौरी हो । देवीको रङ पहिले कालो थियो । त्यसैले उनको नाम काली रहन गएको हो । भगवान् शङ्करले एक पटक मनोविनोद गर्दा भगवती देवीलाई काली भन्ने शब्द प्रयोग गरे छन् । त्यो काली भन्ने शब्द भगवतीलाई मन परेन । त्यसपछि उनले आफ्नो कठोर तपस्याद्वारा अत्यन्त गोरो वर्ण प्राप्त गरेको हुनाले उनको नाम महागौरी रहन गयो । यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल प्राप्त हुन्छ । यी भगवतीको शक्ति आराधना गर्नाले भक्तजनको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ । महागौरीलाई प्रकाश शक्तिको स्वरूप पनि मानिन्छ । 

सिद्धिदात्री

नवरात्रको नवौँ दिन पुजिने देवीको नाम सिद्धिदात्री हो । ब्रह्माण्डमा सम्पूर्ण विजय प्राप्त गर्न सक्ने शक्ति यी देवीमा रहेको छ । यिनी भक्तजनलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै इच्छा अनुसारको फल प्राप्त गराइदिने भएको हुनाले उनको नाम सिद्धिदात्री रहन गएको हो । देवीपुराण अनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर भएका हुन् । यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर नामले प्रसिद्ध छन् । 

यस प्रकार स्वयं भगवान् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई यी नौ नामको उपदेश दिनुभएको हो । मनुष्य चाहे जुनसुकै कष्ट या सङ्कटमा परेको होस्, नवरात्रिभरि विशेष गरेर देवीका नौ नामको स्मरण गर्नाले ऊ तत्कालमै कष्ट या सङ्कटबाट सजिलैसँग छुट्न सक्छ । 

–युवामञ्च    

Author

बोधनाथ पौडेल