• १४ असोज २०८१, सोमबार

‘आँखा’ चल्दै, ‘सानो संसार’ रोकियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । चलचित्र ‘सानो संसार’ को प्रदर्शन स्थगित गरिएको छ । अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएकाले शुक्रबारदेखि प्रदर्शन थालिएको चलचित्र स्थगन गरिएको निर्माण पक्षद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । निर्माताद्वय अर्जुनकुमार र माधव वाग्लेद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने बताइएको छ ।  एउटा मध्यमवर्गीय परिवारको कथामा बनेको चलचित्रमा सिद्धार्थ पुडासैनीको निर्देशन रहेको छ । चलचित्रमा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतमलगायतको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुनुहुन्छ ।

यसैबिच जौन योञ्जन निर्देशित चलचित्र ‘आँखा’ भने प्रदर्शनमै रहेको छ । चलचित्रमा सुकुमवासी बस्ती व्यवस्थापनको विषयमा राज्यसंयन्त्र र काठमाडौँ महानगरबिच भएको झैभगडालाई कथा बनाइएको छ । चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बरालको अभिनय छ । नारायणप्रसाद बराल कार्यकारी निर्माता रहनुभएको चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ ।