‘मिर्मिरे’ शब्दले एकाबिहानै छ्याङ्ग उज्यालो हुनुभन्दा अगाडिको समय जनाउँछ । रात सकिन आँटेको तर अँध्यारो भने हट्न बाँकी रहेको अर्थात् रात र दिनको सङ्गम भनेर बुझ्न पनि सकिन्छ । रातको अन्त्य र दिनको आरम्भ नै मिर्मिरे हो । रात र दिन के हो प्रस्ट छुट्याउन नसकिने, सूर्योदयको पूर्वावस्था, भुक्भुके उज्यालो अर्थात् पूर्वतिरको क्षितिज केही उज्यालो हुन थालेको हो कि जस्तो लाग्ने उषाकालको पूर्वार्धलाई मिर्मिरे बिहान भनेर चिनिन्छ, अनुभव गरिन्छ । मिर्मिरे उज्यालो हुनुको सङ्केत पनि हो । मानिसको मनमा अब छिट्टै अँध्यारो हटेर अरुणोदय हुँदै छ भन्ने अनुभव गराउने दिनको प्रथम प्रहरको पूर्वावस्था भने पनि हुन्छ । मानव जीवनको गतिशीलता समयको यसै सँघारबाट आरम्भ हुन्छ ।
प्रकृति र मानव जीवनका बिचमा सन्तुलन भएरै प्रकृतिसँग मानिसले आफ्नो अस्तित्वको सहवरण पनि गर्दै आएको हो । प्रकृतिले नै जीवजगत् सम्पूर्णको दिनचर्या निर्धारण गरेको छ । मानिसका यावत् कर्महरू प्रकृतिसँग एकाकार भएर सम्पन्न हुन्छन् । अनि मात्र ऊ अस्तित्वमा छ । प्रकृतिको प्रतिकूल हुने भौतिक व्यवहार जीवनकै लागि प्रतिकूल हुन्छ । उषा, दिवा, सन्ध्या, रात्रि आदि समयका प्रहरहरू प्रकृतिका स्वरूपहरू हुन् । सक्रिय जीवनको आरम्भ उषाकालमा र विश्रान्ति सन्ध्या वा रात्रिकालमा हुनु प्राकृतिक हो । सृष्टिको आरम्भदेखिकै यो क्रम निरन्तर छ र रहने छ अनन्तसम्म ।
मिर्मिरे हुनु अगाडिदेखि नै ब्युँझेर गृहिणीहरू घरको काम गर्न थाल्छन् । ढिकी, जाँतो, दलानमझेरी लिपपोत, पानीपँधेरो, बढारकुँडार आदि घरधन्दामा उनीहरू सक्रिय हुन थाल्छन् । भाले कराउँछ, कुखुरी काँ... । आकाशमा काग र अरू पन्छीहरू मिर्मिरेदेखि नै आफ्नो उडान भर्न थाल्छन् । तिनको आवाज टाढैसम्म सुनिन्छ । हिउँदको मिर्मिरेमा पारि वनबाट कोइलीको सुरिलो झङ्कार वारिसम्म आइपुग्छ । सूर्योदयको स्वागतमा रनवन ब्युँझन थालिसकेको हुन्छ । प्रकृतिसँग एकाकार भएरै ग्रामीण जीवनले सास फेर्छ । समयसँगै हाम्रा धेरै परम्परागत चलन विगतको गर्तमा थन्किँदै पनि गएका छन् ।
गोठमा गोठालाहरू उठेर वस्तुभाउसँग बात मार्न थाल्छन् । उनीहरू मन्द मन्द आवाजमा सिलोक गुन्गुनाउँदै भकारो, थलो सफा गर्न थाल्छन् । “अँगेनुको मुढामा आगो निभ्यो कि, नत्र पल्लो गोठमा गएर ल्याउनु पर्ला,” मनमा गुन्दै पटुका कस्न थाल्छन् गोठालाहरू । मालिक उठेपछि बिस्तारै टाट्नामा बाच्छा पाडा चल्मलाउन थाल्छन् । रहलपहल घाँसमा तिनीहरू सर्याकसुरुक गर्न थाल्छन् । उता बारपर्तिर बाँधेको माली गाई बिस्तारै बाँ... गरेर ममत्वको स्पर्शले बाच्छीलाई आश्वस्त पार्छ । गोठमा आगो बल्न थालेपछि वस्तुभाउ र गोठालाहरूको लयबद्ध दिनचर्या सुरु हुन्छ । गोठालाहरूको निश्छल जीवनलाई मिर्मिरेले जगाउँछ । भरे दिउँसो घाँसका भारीहरू त बोक्नु नै छ उनीहरूले । कर्ममा आस्था छ, कर्महरू मिर्मिरेमै थालिन्छन् ।
सहरबजारमा मन्दिरका घन्ट बज्न थाल्छन् । नजिक वा टाढा तीर्थाटनको आरम्भ हुन्छ । पूजाथालीमा धुप, दीप, फूल, अक्षता, भेटी बोकेर गृहिणीहरू मन्दिर जाने क्रम सुरु हुन्छ । पूजा, आरती सुरु गर्न चाँजोपाँजो मिलाउँदै हुन्छन् पुजारीहरू । गाउँघरका मन्दिरमा श्रद्धालुहरू नै आफैँ पुगेर पूजाआजा गर्छन् । मन्दिरहरूमा उत्सव आरम्भ हुन्छ । सखारैदेखिका देवकार्यहरू घाम फैलिन्जेलसम्म पनि भइरहन्छन् । मिर्मिरेमा अघिल्लो दिनको थकाइको अन्त्य भई नयाँ जागरण आरम्भ हुन्छ ।
मिर्मिरेको प्रतीकात्मक अर्थ पनि छ । मिर्मिरे शब्दले प्रजातन्त्र वा स्वतन्त्रताको आगमनको अर्थ पनि दिने गरेको छ । उज्यालो क्रमशः बढ्दै गएर धरतीमा राम्ररी घाम झुल्किनुलाई प्रजातन्त्रको बिहानीको विम्ब मान्ने गरिएको छ । सामाजिक कुरीति, बेथिति, अन्धविश्वास, कुसंस्कार, शोषण, थिचोमिचो आदि हटेर सुखशान्ति र स्वतन्त्रता प्राप्त हुनुलाई प्रजातन्त्रको सूर्योदय भएको भन्ने सम्झिइन्छ । जनताका आशा, आकाङ्क्षाको वा चैतन्यको आरम्भ हुनुलाई प्रजातन्त्रको मिर्मिरे अनि त्यसको प्राप्तिपछिको अवस्थालाई प्रजातन्त्रको बिहानी सम्झेर स्रष्टाहरूले अनेक सिर्जना गरेका छन् । मिर्मिरेले आशावादी बनाउँछ, बिहानले आशालाई पूर्ण गराउँछ । कवि भूपी शेरचनले ‘सहिद’ कवितामा यसै मर्मको सङ्केत गर्नुभएको छ :
“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।”
जसरी मिर्मिरे बिहान हुनका निम्ति आकाशका ताराहरू अस्ताउनु पर्छ, उसरी नै मुलुकमा प्रजातन्त्रको बिहान उदाउनलाई देशवासीको बलिदान वा आत्मोत्सर्गको खाँचो पर्छ भन्ने सन्देश शेरचनको कविताबाट प्राप्त हुन्छ । नेपाली जनताले बलिदान दिएका हुनाले नै २००७ सालमा प्रजातन्त्रको बिहानी उदाएको थियो । त्यस्तै २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि पनि असङ्ख्य नेपालीले आत्मोत्सर्ग गरे । २०६२/६३ सालमा लोकतन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा पनि कैयौँ युवकयुवती सहिद भए । यी हरेक परिवर्तनकारी घटनाको पूर्वार्धमा नेपाली जनतामा नवजागरणको लहर उत्पन्न भएको थियो । चैतन्यको क्षितिजमा आशा र नवजीवनको उज्यालो मडारिएको थियो । बिहानको घाम झुल्कन ताराहरू झर्नै पर्छ अर्थात् बिलाउनै पर्छ, मुलुकले सुखशान्ति, समृद्धि र स्वतन्त्रता प्राप्त गर्न जनताको त्याग र समर्पण अनिवार्य छ । मिर्मिरेले आसन्न उज्यालोको सङ्केत गर्छ । मिर्मिरेले नवदिन एवं नवयुगको आह्वान गर्छ ।
मिर्मिरे कर्महरूको आरम्भको क्षण हो । मिर्मिरेमै साइत गरेर हिँडियो भने पक्कै टाढा पुगिन्छ । घाम नझुल्कँदै, चराचुरुङ्गीको कलख सुन्दै गाउँको उकाली ओराली गर्नुमा क्या आनन्द छ ! आज भनेको वर्तमान हो । आजको आरम्भ मिर्मिरेमै गर्नेहरू सफल देखिन्छन् । मिर्मिरे जीवनको गति र उन्नतिको सूचक हो । मिर्मिरे उषा सत्कर्मका लागि सङ्कल्पको क्षण हो । यसै प्रहरमा योगी, साधु, सन्त, महात्मा, साधकहरू योग साधनामा आत्मविस्मृत बनेर उच्चतम आनन्दको उज्यालो प्राप्त गर्छन् । आध्यात्मिक दृष्टिले योगादी कर्महरू हृदयको पवित्रताका अब्बल माध्यम मानिन्छन् । साधकहरूका लागि मिर्मिरे उषाकाल आत्मचैतन्यलाई पुनर्जागृत गराउने दिव्य क्षण हो ।
मैले भौतिक रूपमा समयका प्रत्येक दिवसीय मिर्मिरेहरू त धेरै व्यतीत गरिसकेको छु तर जीवनको पूर्ण उषाकालीन दिव्य आभालाई अझै आत्मावलोकन गर्न सकेको छैन । मिर्मिरेमा दृश्यहरू पूर्ण देखिँदैनन् । आफ्नै र आफ्नै अघिल्तिरका जीवनका अर्थहरू पनि मिर्मिरे झैँ अस्पष्ट देखिइरहेछन् । अब त अलिकति बुझेँ कि भन्यो, फेरि बुझ्न सकेको हुँदैन । मैले बुझिसकेका सत्यका स्वरूपहरू अब अर्कै अर्थ बोकेर नबुझिने जस्ता प्रतीत हुन थालेका छन् । मनभित्रको निराकार मिर्मिरेको विलोपन भई उदाउने मनकै साकार प्रभातीय सौन्दर्यको विराट् क्षितिजमा पौडिन सके जीवन कस्तो हुन्थ्यो होला ? मिर्मिरेमा उभिएर म मनको लड्डु घिउसित खाइरहेछु ।