• ६ पुस २०८१, शनिबार

उत्तरदायित्व लोकतन्त्रको अभिन्न सर्त

blog

आज हाम्रा लागि विशेष दिन हो । आज, बर्सौं लामो सङ्घर्ष, हजारौँको बलिदान र हामी सबैको अथक मेहनतबाट देशको मूल कानुन बनेको दिन हो । ‘जनताद्वारा जनताका लागि’ लिपिबद्ध गरिएको यो ऐतिहासिक दस्ताबेज बनाउन संविधान सभाले आधा दशकभन्दा बढी समय लगानी गरेको छ । आज, विसं १९९३ देखि अधिकार प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको सङ्गठित आन्दोलनलाई संस्थागत गर्ने र २००७ सालदेखि ‘आफूद्वारा आफैँलाई शासन गर्ने, संविधान आफैँले लेख्ने’ जनताको चाहना पूरा भएको दिन पनि हो ।

आजको दिनले हामीलाई विगतको सङ्घर्षसँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ । अनेक जालझेल र घेराबन्दी छिचोल्दै बनेको यस संविधानको रक्षा, संवर्धन र विकासका लागि प्रण गर्ने र यसको प्रभावकारी कार्यान्वयनका लागि उत्प्रेरित गर्छ । यस संविधानबाट हाम्रा सामूहिक इच्छा र साझा दृष्टिकोण प्रतिविम्बित भएको छ ।

हाम्रा अन्धकार सुरक्षित र गन्तव्य सुनिश्चित गरिएको दिनसमेत भएकाले आजको दिन हामी नेपालीको राष्ट्रिय दिवस हो । संविधान दिवस, जनसंविधान दिवस पनि हो । त्यसैले आजको दिन जनताको विजयको दिन हो ।

आजको दिनलाई सरकारी औपचारिक कार्यक्रममा मात्र सीमित गर्नु हुँदैन । हरेक घरमा उत्सव र हरेकको मन मनमा उत्साह छाउनु पर्छ । यस दिवसलाई राजधानीमा मात्रै होइन, सबै प्रदेश र स्थानीय तहहरूमा विभिन्न कार्यक्रमका साथ मनाइयो । 

यस सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस संविधान निर्माणको ऐतिहासिक चरणसम्म आइपुग्न हाम्रो राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दै स्मरण गर्दछु । ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाइते र अपाङ्गता हुनुहुने सबै दाजुभाइ–दिदीबहिनीहरूप्रति सम्मान व्यक्त गर्दछु । मजजुर, किसान, पेसाकर्मीलगायत सबै श्रमजीवी वर्ग, युवा/विद्यार्थी, बुद्धिजीवी, महिला, मधेशी, आदिवासी/जनजाति र विभिन्न तह र तप्काका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु ।

हाम्रो देश १२३ भाषा र १२६ विभिन्न जात/जनजातिको साझा घर हो । यो घर, सबै जातजाति, भाषाभाषी, वर्ग, वर्ण समुदायबिचको न्यानो सम्बन्धमा अडेको छ । हामीबिचको सहअस्तित्व र आपसी सद्भाव एवं पारस्परिक सहयोग नै हाम्रो राष्ट्रिय एकताको आधार हो । हाम्रो भौगोलिक तथा जैविक विविधता र अपार प्राकृतिक सम्पदा समृद्धिको आधार हो ।

जब म संविधान पढ्छु, यिनै विविधता प्रतिविम्बित भएको पाउँछु । मजदुर, किसान, शिक्षक, विद्यार्थी, युवा तथा पाका सबैको आवाज गुन्जिएको पाउँछु । महिला, दलित, आदिवासी÷जनजाति, थारू या मुसलमान, मधेशी–पहाडी–हिमाली, अल्पसङ्ख्यक/ उत्पीडित र सम्पूर्ण पिछडिएका वर्ग तथा क्षेत्रका नेपालीको सपना र आकाङ्क्षा उल्लेख भएको देख्छु । हाम्रो संविधानले– 

प्रत्येक नागरिकलाई अधिकार दिलाएको छ ।

सबै नागरिकलाई आफ्नो कर्तव्य र मर्यादा सिकाएको छ ।

सबै नेपालीको सुन्दर भविष्यका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

अपवाद छोडेर यस संविधानले, सबै नेपालीको भावना समेटेको छ । सबैको भावना नसमेटिएको हुन्थ्यो भने नौ वर्षअघि संविधान जारी हँुदाको ‘असहमति’ त्यत्तिकै शान्त हुने थिएन । आज म, संविधान दिवस मनाइरहँदा, ‘असहमति’ को आडमा हामीबिचको सद्भाव खल्बल्याउन खोज्ने शक्तिहरूका विरुद्ध एक हुने आमनेपाली जनताको सुझबुझपूर्ण सहयोगको सगौरव स्मरण गर्दै विशेष धन्यवाद दिन चाहन्छु । 

आज म यो पनि स्वीकार गर्छु, हाम्रो संविधानले सुनिश्चित गरेका कतिपय अधिकार नागरिकका जीनवमा अनूदित भएका छैनन् । उदाहरणका लागि, पहिलो संसदीय व्यवस्था जबरजस्ती अन्त्य गरी तानाशाही व्यवस्था लादिएको बखत रहेको १० प्रतिशत साक्षरताको दर अहिले ७७ प्रतिशत पुगे पनि संविधानले सुनिश्चित गरे अनुरूपको शिक्षाको अधिकार पूरा हुन बाँकी छ ।

अझै पनि पाँचदेखि १२ वर्ष उमेर समूहका दुई लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर छन् । शिक्षा र स्वास्थ्य हाम्रो आधारभूत मौलिक हक हो । निरोगी नेपालको हाम्रो चाहना पूरा गर्ने योजनाबमोजिमका कार्यक्रम, कार्यक्रम पूरा गर्न लाग्ने स्रोतसाधन, त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्तिको समस्या हल हुनै बाँकी छ । वर्गीय होस् वा जातीय, क्षेत्रीय होस् वा समुदाय आधारित भेदभाव समाजमा अझै पनि छ । संविधानमा भनिएको रोजगारीको अधिकार प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसकेकै कारण आज युवा रोजगारीकै लागि देश छोड्न विवश छन् ।

त्यसै कारण मैले संविधानलाई जीवन बनाउनु पर्छ भन्ने गरेको हुँ । यसलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरुरी छ । सरकार यसमा दृढ छ र यसको प्रभावकारी कार्यान्वयन गर्न लागि परेको छ ।

संविधानले सुनिश्चित गरेको मौलिक हक मानव अधिकारका विषय हुन् । नागरिक अधिकार प्राप्तिकै लागि म आफैँ पनि जेल, नेल र यातना खेपेर, लामो समय अधिकारको लडाइँ लडेर आएको व्यक्ति हुँ । मानव अधिकार हनन हुँदा के हुन्छ भन्ने कुरा म आफैँले भोगेको छु । तसर्थ, मेरो नेतृत्वको यो सरकार मानव अधिकार उल्लङ्घन गर्दैन र मानव अधिकार उल्लङ्घनका कुनै पनि कार्यलाई सहँदैन ।

अब हामीले लड्नुपर्ने लडाइँ भनेको प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ हो । यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नु पर्ने लडाइँ हो ।

एउटा युवाले मैले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस् ।

एउटा श्रमिकले मैले मर्यादित काम पाउँछु भन्ने विश्वास गर्न सकोस् ।

प्रत्येक नागरिकलाई स्वास्थ्योपचारमा समान पहुFच होस् ।

पेटमा अन्न नपरेको कसैको भोको शरीरले ओछ्यान छुनु नपरोस् ।

ओत लाग्ने ठाउँ नभएर कुनै नागरिकले आकाशतिर हेर्न नपरोस् ।

बालबालिका सडकमा होइन, विद्यालयमा भेटिऊन् ।

किसानले कृषि उपजको बजार र मूल्य पाऊन् ।

 – अपाङ्गता भएका नागरिकले सम्मानपूर्वक बाँच्न पाऊन् ।

र, राज्य बुढेसकालको सहारा बनोस्, कमजोर र असहायको आड–भरोसा बनोस् ।

मेरो नेतृत्वको सरकार अब अहिले यसैमा केन्द्रित छ ।

यसका लागि अहिले दुई किसिमका काम भइरहेका छन् । पहिलो–मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार पार्ने । नीतिगत रूपमा अहिले मौलिक हक

कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्ययोजना बनाउने कामले तीव्रता पाएको छ । दोस्रो–मौलिक हक कार्यान्वयनका लागि आर्थिक स्रोत जुटाउने । किनकि सम्पूर्ण मौलिक हकको कार्यान्वयन गर्न लाग्ने आवश्यक आर्थिक स्रोत तत्काल उपलब्ध छैन । आज मुलुकले सबैभन्दा बढी यही मुद्दामा घोत्लिनु पर्छ ।

अझै हाम्रो देशमा सयमध्ये २० जना जति नागरिक निरपेक्ष गरिबीको रेखामुनि छन् । उनीहरूको या त कमाइ नै छैन या उनीहरूको कमाइले खान, लाउन र बस्न आवश्यक पर्ने खर्च पुग्दै पुग्दैन । यो अवस्थाको अन्त्य गरेर मात्र हामी समाजलाई समतामूलक बनाउन सक्छौँ । समाज समतामूलक भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ । राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रो विकासले कुनै पनि क्षेत्रको परिचालनलाई बिर्सनु हुन्न ।

संविधानले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको छ । हाम्रो विकासको स्तर अनुरूप सामाजिक सुरक्षाको प्रस्ताव गरेको छ । सर्वकालिक सामाजिक सुरक्षाबाट ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवासहित संरक्षणको थालनी गरेको छ । ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत सेवा निवृत्तपछि उनीहरूको जीवन सहज र सुखी बनाउने कुरामा सरकार दृढ छ । त्यसै गरी स्टार्टअप, स्वरोजगारी एवं उद्यमशीलतामा लगानी गर्ने र त्यसमा धेरैभन्दा धेरै युवालाई संलग्न गर्ने सरकारको नीति छ । युवा र बालबालिका माथिको खर्च भनेको भविष्यका लागि लगानी हो । हामी आफ्ना लागि कम, भविष्यका लागि धेरै लगानी गर्नु पर्छ भन्नेमा विश्वास गर्छौं ।

हामी वातावरणीय पक्षमा पनि उत्तिकै सजग छौँ । आजका लागि मात्र होइन अझ बढी त भविष्यका लागि वातावरणसम्बन्धी अधिकारलाई पनि हामीले संविधानमा मौलिक हककै रूपमा राखेका छौँ । ग्लोबल वार्मिङ र त्यसको असरका बारेमा सजग छौँ । यसप्रति योगदान गर्न हामी संयुक्त रूपमा इमानदार प्रयास गर्ने छौँ । विकासका लागि स्थायित्व चाहिन्छ । अहिले हामीलाई नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ । राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।

संविधानलाई समयानुकूल बनाउनु पर्छ । समय अनुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । संविधानको संशोधन भनेको ‘लिखत र मर्म’ (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो । राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ ।

मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागु होस् भन्ने चाहन्छ । नहुँदा आमनागरिक कहिलेकाहीँ निराश पनि हुन्छ । मैले संसद्मा विश्वासको मत लिँदै गर्दा भनेको थिएँ– २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खास गरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौँ भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ ।

म युवालगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, काम गरेर देखाउने, गरेकै कामले आशा भर्नेबाहेक यो सरकारको अर्को एजेन्डा छैन । संविधानलाई जीवनमय बनाउनेबाहेक यो सरकारको अरू कुनै मुद्दा छैन । युवाको सन्दर्भमा एक जना नेताको भनाइ मलाई याद आइरहन्छ– गिभ मि जस्ट वान् जेनेरसन अफ युथ एन्ड आइ विल ट्रान्सफर्म द होल वल्र्ड (मलाई युवाको एउटा पुस्ता दिनुस् र म सिङ्गो दुनियाँ बदल्ने छु) । म पनि ठान्छु, हाम्रो युवा पुस्ताकै बलमा यो मुलुक रूपान्तरण गर्न सकिन्छ ।

आज म खास गरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु. तपाईंहरूभित्र केही गरौँ भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौँ भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं गर्छौं । सुशासन कायम त हामी गर्छौं, गर्छौं । तर याद गरौँ देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौँ पुस्ता पछि पर्ने छौँ ।

आर्थिक विकास र उन्नतिको जुनसुकै तहमा हुँदा पनि नेपाल सदैव एउटा सभ्य र सुसंस्कृत राष्ट्र हो । नेपाली समाज एउटा अनुशासित समाज हो । यहाँका जनता सभ्यता, शिष्टता र सामाजिक मर्यादा जस्ता कुरालाई आफ्नो आदर्श ठान्छन् ।

हाम्रो समाजमा अनुशासन र सामाजिक व्यवस्थाका आफ्नै शीलहरू छन् र उच्चस्तरीय अनुबन्धहरू छन् । हाम्रो समाजले अराजकता र भाँडभैलोलाई लोकतन्त्र मान्दैन । असहमति जबरजस्ती दबाउने कुरालाई अनुशासन पनि मान्दैन । लोकतन्त्र र अनुशासन, स्वतन्त्रता र नियमन हाम्रो समाजका अविभाज्य पक्ष हुन् । यिनले नै समाजलाई नियन्त्रित र सन्तुलित तुल्याउन मद्दत पु¥याउँछन् । आज हामी अरूको नक्कल गर्न खोज्दा, सामाजिक सम्बन्ध, मर्यादा र अनुशासन जस्ता कुराहरूलाई महत्व नदिने बाटोतिर भ्रमपूर्ण र गलत ढङ्गले जान खोजेका पो हौँ कि ? यस्ता प्रवृत्ति समाजमा यदाकदा देखिएका छन् र नेपाली समाजलाई यी कुरा कदापि स्वीकार्य हुँदैनन् र हुने छैनन् ।

हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रीडास्थल होइन । पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकको सम्मान गर्ने नमुना समाज हो । यस्तो नमुना समाज– जुन शान्त, सभ्य र सुसंस्कृत हुने छ । जहाँ सुखसहितको समृद्धि हुने छ । हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था हो । त्यसैले, ‘सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा’ सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो । सुशासन अर्थात् कानुनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न सर्त हो ।

‘वसुधैव कुटुम्बकम्,’ सदियौँदेखि हामीले भन्दै र सुन्दै आएको आदर्श वाक्य हो । हामी नेपाली सिङ्गो विश्वलाई एक परिवार मान्छौँ । सबैलाई दाजुभाइ, दिदीबहिनी मानी हाम्रो वैदेशिक सम्बन्ध कायम राख्छौँ । ‘सबैसँग मित्रता छैन कसैसँग शत्रुता’ हाम्रो विदेश नीतिको मर्म हो । हामी हाम्रा छिमेकीसँग असल छिमेक सम्बन्ध राख्छौँ । संसारभरिकै सबै मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहन्छौँ । 

मैले पहिले नै भनिसकेको छु– हाम्रो राष्ट्र बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र हो । हामी सबै मिलेर सबै जातजाति, भाषा संस्कृतिको रक्षा, प्रवर्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ । हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन । यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम् कर्तव्य र दायित्व हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार राजधानीमा गर्नुभएको सम्बोधनको सम्पादित अंश ।   

Author

केपी शर्मा ओली