• ११ असोज २०८१, शुक्रबार

पोस्टर कलामा ‘लोकतन्त्र र संविधान’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘संविधान दिवस २०८१’ सन्दर्भ पारेर बुधबारबाट ‘लोकतन्त्र र संविधान’ विषयक पोस्टर कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा कुलपति नारदमणि हार्तम्छालीले पोस्टर कला सन्देश तथा विषयवस्तुप्रधान हुने भएकाले यसको विश्लेषण त्यसैका आधारमा हुनुपर्ने बताउनुभयो । 

उहाँले लोकतन्त्र र संविधानको भावनालाई शिक्षा, चेतना, कलामार्फत जनस्तरमा लान आवश्यक रहेको धारणा राख्नुभयो । उहाँका अनुसार पोस्टर कलामा प्रयोग भएको रेखाङ्कन शैली र रङले छुट्टाछुट्टै अर्थ बोकेको हुन्छ । 

सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कलाकार युगका निर्माता भएकाले उनीहरूले गरेका सिर्जना सोही अनुसारको हुनुपर्ने बताउनुभयो । उहाँले कलाले हाम्रो भूगोल, संस्कृति, समाज, राष्ट्र र विश्वको चेतना निर्माणमा ठुलो प्रभाव पार्ने धारणा राख्नुभयो । उहाँका अनुसार यस प्रदर्शनीको मूल उद्देश्य कलाका माध्यमबाट संविधानको मर्म, भावना, महत्व जनतामा पु¥याउनु हो । यस्ता कार्यक्रमले नवयुवामा संविधानका विषयमा सचेतना जगाउने कार्य गर्दछ । 

वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले नयाँ पुस्ताले संविधानको विषयमा विस्तृत रूपमा बुझून् भन्ने उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीमा राष्ट्र, राष्ट्रियता र देशप्रेमको भावलाई जगाउनु, लोकतन्त्र र संविधानका विषयमा जानकार गराउनु अहिलेको आवश्यकता पनि हो ।” 

समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवाले लोकतन्त्र र संविधान एक सिक्काका दुई पाटा हुँदाहुँदै पनि विद्यार्थीले कलामार्फत कसरी बुझेका छन् भनेर बुझ्न सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रका सवालमा हामीले यस प्रतियोगिताको आयोजना गरेका हौँ । आगामी दिनमा विद्यार्थीले अझ परिष्कृत सिर्जना गर्नुहुने छ भन्ने आशा छ ।” कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङ्माङ, प्राज्ञ सभा सदस्य प्रदीप शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा यमकुमारी कुलुङ पहिलो, मुक्ति चालिसे दोस्रो, लेग्देन साङ्मो तामाङ तेस्रो र सम्झना राईले सान्त्वना पुरस्कार प्राप्त गनुभयो । पुरस्कारको राशि क्रमशः १५ हजार, १२ हजार, १० हजार र आठ हजार रुपियाँ तथा प्रमाणपत्र रहेको छ । प्रतियोगितामा सौरभ लगुन, होमराज कुलुङ राई, कसिस महर्जन, श्रद्धा श्रेष्ठ, रुद्र राई, प्रतिभा खड्का, सुदिशा थापा, प्रतीक्षा तिवारी, अञ्जली घिमिरे, निश्चल श्रेष्ठ, राष्ट्र कार्की, जेनिश महर्जन, राहुलराज शाक्य, प्रवीण अधिकारी, नवीन लामालगायतले सहभागिता जनाउनुभएको थियो । प्रदर्शनी असोज १० सम्म चल्ने छ ।