• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय नाटक महोत्सव सम्पन्न

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते ।  गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइएको छ । रिमालको शतवार्षिकीका अवसरमा बुधबार आयोजित राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी र कला तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । 

महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरूप माधव भण्डारीको लेखन रहेको नाटक घरजमले पहिलो पुरस्कार जितेको छ । सोही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गीमगरले अभिनेतृको अवार्ड हात पार्नुभएको छ । लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतिसम्बन्धी गणेशप्रसाद पौडेलको लेखन र विशालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भएको थियो । सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड पाउनुभयो । त्यस्तै बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको थियो । 

कार्यक्रममा वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत विशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरिएको थियो ।  

त्यस्तै २०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठलाई सम्मानित गरिएको थियो भने हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत विशेष पुरस्कारबाट रङ्गकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्यकुमारी पन्त, हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट पत्रकार अनन्त वाग्ले पुरस्कृत हुनुभएको थियो ।