• २ असोज २०८१, बुधबार

संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन: मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, असोज २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताउनुभएको छ ।

बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।  मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पार्नुभयो ।

‘‘दुईवटा ठुला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन । देशको दूरगामी परिवर्तन र सङ्कटबाट जोगाउन गर्नका लागि एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । ०८४ मा एमाले र कांग्रेसबिच नै प्रतिस्पर्धा हुन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘संविधान संशोधन गर्नुपर्ने छ । कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन । राष्ट्रको हितका पक्षमा नेकपा माओवादी, राप्रपा, रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरुरी छ । उहाँले १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नुपर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक, समावेशिता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताउनुभयो ।

मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरुरी रहेको औँल्याउनुभयो । यसैगरी उहाँले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।