• ११ असोज २०८१, शुक्रबार

'शिक्षाको विकासमा सबैको चासो हुनुपर्छ'

blog

फेदीखोला-२ घर भई बिआर्किटेक्टमा नेपाल प्रथम रचना कार्कीलाई सम्मान गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असोज २ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ । फेदीखोला गाउँपालिकाले वडा नं–२, सिद्धार्थ माविमा गरिएको नवौँ संविधान तथा ४५ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराम भट्टले उक्त कुरा बताउनुभएको हो ।

शिक्षा नभई केही नहुने बताउँदै प्रदेशका प्रमुख भट्टले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने बताउनुभयो । फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगति गरेको बताउँदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ । 

"अहिले प्राविधिक शिक्षा आवश्यक छ र प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको छ", उहाँले भन्नुभयो, "यहाँका पर्यटकीय गन्तव्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्छ ।" 

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताउनुभयो । 

यस्तै, कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शैक्षिक र्‍याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो ।