• २ असोज २०८१, बुधबार

बाजुराको मार्तडी-कोल्टी सडक अझै बनेन

blog

गत असारदेखि अवरुद्ध मार्तडीदेखि कोल्डी सडकको बिचमा पर्ने जिल्ली सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, असोज २ गते । गत असारको पहिलो सातादेखि अवरुद्ध बाजुराको मार्तडी–कोल्टी सडक अझै सञ्चालनमा आएको छैन । सडक सञ्चालनमा नआउँदा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिका लगायतका स्थानीयलाई यसपालिको दसैँ खल्लो हुने कि भन्ने निकै चिन्ता परेको छ ।

पहिला बाटो खुल्छ र स्याउ बिक्री गर्न बजार लान्छु भन्ने सोच गरेको थियो । स्याउ पाक्यो तर बाटो खुलेन, बुढीनन्दा नगरपालिका – ९ का रामबहादुर रोकायाले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतका दिन देखि अहिले सम्म यहाँका स्थानीयलाई बाटोकै समस्या हुने गरेको छ । हिउँदका महिना केही दिन बाटो खुल्छ । बर्खा लाग्छ त्यसपछि फेरि बाटो बन्द हुन्छ । सडक बन्द भएको झण्डै पाँच महिना पुग्यो । गाउँमा दसैँ आइगयो बाटो भने अहिलेसम्म खुल्याको नाइँ ।"

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा तथा छिमेकी जिल्ला र हुम्ला कालिकोट लगायतका स्थानीयले दसैँको बेला मार्तडी–कोल्टी सडक देखि पनि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने गर्दछन् । लामो समयदेखि बाटो बन्द भएकोले यहाँका स्थानीयलाई दसैँ अगावै सो सामग्री कसरी गाउँमा लैजाने निकै चिन्ता छ । उसो त बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश ग्रामीण सडक पनि अस्तव्यस्त छन् ।

गत वर्ष यहाँका स्थानीय तहले सडकला चाँडै मर्मत गरेको भए पनि यतीबेला भने अधिकांश स्थानीय तहले सडक मर्मत गर्ने कामलाई कुनै सुरसार गरेको छैन । मार्तडी-कोल्टी सडक कालोपत्रे गर्न २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले २०७६ असारमा जिम्मा लिएका हुन् ।

मार्तडी बसपार्कदेखि चुथीको झन्डै नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङकर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै पाँच किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बानियाँ कुशेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएका थिए । 

अहिले फेरि ढम्कने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक नाति कन्स्ट्रक्सन प्रालि जिम्मा लिएको छ । भने चुथी देखि ढम्कने सम्मको सडक आफैले निर्माण गरिरहेको बाँनीया निर्माण सेवा प्रालिका प्रोजेक्ट म्यानेजर विष्णु लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको पानीका कारण अहिले केही ठाउँमा गाडी त के मानिसलाई समेत हिँड्न समस्या छ । यसका बारेमा अहिले यहाँका बुढीनन्दा र बडिमालिका नगरपालिकाका मेयर सापसँग सडक मर्मतका बारेमा कुरा भएको छ । ”

अहिले केही दिनका लागि अस्थायी रूपमा गाडी सुचारु हुने गरी सडक मर्मत गर्ने काम हुन्छ । बाँकी यो आर्थिक वर्षमा चुथी देखि ढम्कने सम्मको सडक कालोपत्रे गरिसक्ने लामिछानेले बताउनुभयो ।

अविरल वर्षातका कारण मार्तडी देखि कोल्टी सडकको बिचमा पर्ने जिल्लीमा गएको पहिरोले सडक दुई चार महिना सम्म सडक अवरुद्ध भएको हो । यतीबेला त्यो ठाउँमा गएको पहिरो सफा गर्ने गरी ठेकेदारलाई काम गर्न लगाइएको डिभिजन कार्यालय अछामका सूचना अधिकारी देवी प्रसाद उपाध्यायले बताउनुभयो ।

मार्तडी कोल्टी सडकलाई दसैँ अगावै सञ्चालन गर्नका लागि यती बेला पूर्वाधार विकास कार्यालय अछाम र मार्तडी कोल्टी सडकको जिम्मा लिएको ठेकेदारलाई  समेत निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपकमण्डलले बताउनुभयो ।