• २ असोज २०८१, बुधबार

क्लिन चिट पाएँ भनेर सफेद झुटको खेती : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल । फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताउनुभएको छ । 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई दोषी ठहर्‍याई कारबाहीका लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उहाँको पार्टीका नेताहरूले संसदीय समितिले उहाँलाई क्लिनचिट दिएको भनी दिइरहेको अभिव्यक्तिप्रति पोखरेलले सो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले लामिछाने र उहाँको पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गर्नुभएको छ । 

लामिछानेको नाम नलिई पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँछ र दायित्व के हो भन्ने कुरा थाहा थिएन, भन्नु सफेद झुट भएको उल्लेख गर्नुभएको छ ।

‘कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिनालगानी त्यसको सेयर होल्डर बन्दछ र सीइओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो,  होइन र ?’ उल्लेख गर्नुभएको छ ।