• २ असोज २०८१, बुधबार

एनसेलको उन्नाइसौँ वार्षिकोत्सव

‘एनसेल फाउन्डेसन’ घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २ गते । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ । कम्पनीको १९ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उक्त फाउन्डेसनमार्फत आगामी पाँच वर्षमा कम्तीमा २० करोड रुपियाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता कम्पनीले सार्वजनिक गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सामाजिक कार्यलाई एकीकृत गर्न फाउन्डेसन स्थापना गरेको जानकारी दिनुभयो । विगत १९ वर्षमा एनसेलले एक करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गरी स्वास्थ्य, शिक्षा, वातावरणलगायतका सामाजिक क्षेत्रमा दुई अर्बभन्दा बढीको योगदान गरिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यप्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको उद्देश्य रहेको उल्लेख गरेको छ । फाउन्डेसनमार्फत सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइसलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने एनसेलले जनाएको छ । 

कार्यक्रममा एनसेल फाउन्डेसनको आरम्भसँगै १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्य कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सिड फन्डका रूपमा सहयोग प्राप्त गर्ने छन्  । 

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै कम्पनीले सेवा सुरु गरेको थियो । स्थापनाकालयता कम्पनीले तीन खर्ब २० अर्ब रुपियाँभन्दा बढी कर तथा शुल्क सरकारलाई बुझाएको एनसेलले जनाएको छ ।