• १ असोज २०८१, मङ्गलबार

अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गर्ने शिक्षामन्त्रीको उद्घोष

blog

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : मन्त्री भट्टराईको सचिवालय

काठमाडौं, असोज १ गते । विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष गर्नुभएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो उद्घोष गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, “विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको २ प्रतिशत रकम छुट्याउने नीति रहेको छ । वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने योजना रहेको छ ।” 


कार्यक्रममा बोल्नुहुँदै मन्त्री भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन  गरी  राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको जिकिर गर्नुभयो ।

उहाँले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने उल्लेख गर्नुभयो । 

अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया–निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गर्नुभयो ।


साथै मन्त्री भट्टराईले उदीयमान प्रविधिका रूपमा विकास भइरहेको प्रविधिको उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा  केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो ।

समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाहरूलाई पुरस्कृत गरिएको थियो । यस वर्षको विज्ञान दिवसको नारा “विज्ञान तथा प्रविधि:  विकास र उत्पादन वृद्धि” रहेको छ।

विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात् गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले वि।सं। २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।