• १ असोज २०८१, मङ्गलबार

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक इन्द्रजात्रा अवलोकन

blog

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत इन्द्रजात्राको अवलोकन गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, असाेज १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको हो । 

उहाँलाई काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले स्वागत गर्नुभएको थियो । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । 


भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रीहरू, सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । 

वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।