• १ असोज २०८१, मङ्गलबार

स्वास्थ्य बिमाको सीमा पाँच लाख बनाऔँ : मन्त्री पौडेल

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर: फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, असोज १ गते ।
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्‍याउनै पर्नेमा जोड दिनुभएको छ । अहिले स्वास्थ्य बिमा बोर्डले चलाएको स्वास्थ्य बिमामा यसको सीमा एक लाख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मङ्गलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमाको सीमा बढाउन अरू स्रोत खोज्न सकिने औँल्याउनुभयो ।

“एकद्वार प्रणालीबाट काम गरौँ । बिमाको सिलिङ पाँच लाख कायम गरौँ,” उहाँले भन्नुभयो, “यसका लागि अरू स्रोत खोज्न सकिन्छ । ज्येष्ठ नागरिकलाई एक महिनाको सामाजिक सुरक्षा भत्ता कोषमा दिने प्रावधान ल्याऔँ । सबै सरकार र संस्थागत रूपमा जागिर गर्नेहरूले तलबको दुई प्रतिशत बिमा कोषमा जम्मा गर्ने नीति लिन सकिन्छ ।”

केही निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरूले नक्कली बिमा दाबी पेस गरिरहेको औँल्याउँदै उहाँले बिमा बोर्डका अतिरिक्त अर्को नियमक निकायको आवश्यकतामा जोड दिनुभयो । २०४८ सालपछि सरकारी अस्पतालहरूमा दरबन्दी थप नभएको स्विकार्दै उहाँले नागरिकको स्वास्थ्यका लागि सरकारले जनशक्ति, उपकरण र व्यवस्थापनमा ध्यान दिनैपर्ने विचार राख्नुभयो ।

ठुला सरकारी अस्पतालले यथासम्भव सबै सेवा दिनुपर्नेमा जोड दिँदै उहाँले ती अस्पतालहरूलाई रिफर सेन्टर जस्तो नबनाउन निर्देशन दिनुभयो । “अरूले हामीलाई रिफर गरुन्, तर यहाँबाट अन्यत्र निजीमा रिफर गर्ने अवस्था बन्नुहुन्न,” मन्त्री पौडेलले भन्नुभयो ।

मन्त्री पौडेलको पहिलो निर्णय मङ्गलबारबाट गण्डकीमा लागू भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विस्तारित सेवा यहाँ सुरु गर्न लागिएको हो । सोसम्बन्धी सम्झौतापत्रमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि, २०८१ अनुसार क्यान्सर रोग उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्री पौडेलको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । मन्त्री पौडेलले समझदारी हुने ठुलो कुरा नभएको जनाउँदै यसको निरन्तरता र प्रभावकारिता मूल विषय भएको औँल्याउनुभयो ।

भर्खरै क्यान्सरका सबै उपचार यहाँ सम्भव नभए पनि केमोथेरापी, फलोअपमा आउने बिरामीलाई सेवा सुरु गरिहाल्न उहाँले आग्रह गर्नुभयो । अस्पतालमा पूर्वाधार र उपकरण निर्माणमा साझेदारी जरुरी भएकोमा जोड दिनुहुँदै उहाँले अबको सय दिनमा क्षेत्रीय अस्पतालमा १५ बेड आइसियु र पोस्ट अपरेसन कक्षसमेत थपिने प्रतिबद्धता गर्नुभयो । तीन सय शय्यामाथिका अस्पतालमा एमबिबिएस र सय बेडमाथिका अस्पतालमा नर्सिङ शिक्षा सुरु गर्ने उहाँको भनाइ छ ।

समझदारीअनुसार बिपी कोइराला अस्पतालले पोखरा आउने जनशक्तिलाई यातायात, खाजा लगायत खर्चको बजेट व्यवस्था गर्नुपर्ने र आफ्नो सेवा प्रभावित नहुने गरी सेवा सञ्चालन गर्नुपर्ने छ । विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवम् उपचारसमेत समेटी कम्तीमा महिनाको एक पटक सेवा प्रदान गर्नुपर्ने यसमा उल्लेख छ ।

क्षेत्रीय अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण बनाउने, विस्तारित सेवाबारे सूचना, कार्यतालिका र विवरण जानकारी गराउने सम्झौता छ । यस्तै, उपचारका लागि उपलब्ध पूर्वाधार औजार, उपकरण र जनशक्ति परिचालन गरी क्यान्सर अस्पतालका जनशक्तिलाई पूर्ण सहयोग गर्ने सम्झौता भएको छ । यो समझदारी मङ्गलबारबाट २०८२ असार मसान्तसम्म लागू हुनेछ ।

गएको वर्ष क्षेत्रीय अस्पतालले बर्हिरङ्गमा चार लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । यहाँ १० हजार बिरामीको शल्यक्रिया गरिएको छ ।