• १ असोज २०८१, मङ्गलबार

वन संरक्षण सबैको दायित्व हो : मुख्यमन्त्री लामा

blog

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङ संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसर पारेर दिव्य बाल उद्यानमा वृक्षरोपण गर्दै ।

राममणि दाहाल

हेटौँडा, असोज १ गते । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ विविध कार्यक्रम गरी मनाउने क्रममा मङ्गलबार हेटौँडामा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । 

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिका –९ स्थित बेतखोल्सी सामुदायिक वन समूहको क्षेत्रमा रहेको दिव्य बाल उद्यानमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले वन र वातावरणको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले वनलाई उत्पादनसँग जोड्नु आवश्यक भएको बताउँदै बढ्दो वातावरणीय समस्या समाधानका लागि वनको संरक्षण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल र वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले वनको संरक्षणसँगै उपयोगको बारेमा बोल्नुभएको थियो । वृक्षरोपण कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीलगायत सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । 

वृक्षरोपण कार्यक्रममा समी, पलाँस, सीता, अशोकलगायत फूल प्रजातिका गरी सयवटा बिरुवा रोपिएको थियो । यसअघि मुख्यमन्त्री लामाले दिवसकै अवसरमा हेटौँडा प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, हेटौँडाको आयोजनामा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा १३ टिमको सहभागिता छ ।