• १ असोज २०८१, मङ्गलबार

‘निदानात्मक सेवामा सुधारका पहल भइरहेको छ’

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल

काठमाडौँ, असोज १ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा सुधारका पहलहरू भइरहेको जानकारी दिनुभयो ।

बिरामी सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मन्त्री पौडेलले बिरामी सुरक्षाको सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा निदानात्मक सेवामा निरन्तर सुधारका पहलहरू भइरहेको जानकारी दिनुभयो ।

पहलहरूलाई अर्थपूर्ण बनाउन उपलब्ध स्रोत, उपकरण र जनशक्तिको उपयोग गर्दै बिरामीको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गरी निदानात्मक सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन उहाँले प्रतिबद्धता गर्नुभयो ।

यसका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायलाई उहाँले आह्वान गर्नुभयो ।

बिरामीलाई हुने हानी न्यूनीकरण गर्न बिरामी, स्वास्थ्यकर्मी, तथा नीति निर्माताहरूबिच पारस्पारिक समझदारी र सहकार्यको विकास गर्न जरुरी रहेको मन्त्री पौडेलको ठहर छ ।

उहाँ भन्नुहुन्छ, “बिरामीको रोगको सही र सुरक्षित निदान प्रक्रियामार्फत निदानात्मक  त्रुटिहरूलाई न्यूनीकरण गर्न र प्रणालीगत तथा मानवीय क्षमता अभिवृद्धि गर्न बिरामी स्वयं, उहाँको परिवार, स्वास्थ्यकर्मी तथा स्वास्थ्यलाई नेतृत्व प्रदान गर्न सबैको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

नेपालको संविधान, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐनलगायत उपभोक्ता  संरक्षण ऐनले समेत बिरामी सुरक्षालाई प्राथमिकतामा राखेको सन्दर्भमा हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत ‘राष्ट्रिय बिरामी सुरक्षा कार्य योजना २०२४–२०३०’ ले यसका लागि थप दिशानिर्देशन गर्ने उहाँको विश्वास छ ।

बिरामीको रोगको सही निदानात्मक प्रक्रियालाई विशेष जोड दिएको, यस वर्षको विश्व बिरामी सुरक्षा दिवसको मूल नारा ‘निदानमा सुधार, बिरामी सुधार, बिरामी सुरक्षाको आधार’ रहेको छ ।

यो दिवसले बिरामी सुरक्षा गर्न आम नागरिकको चेतनामा अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षाको सुनिश्चितता गर्न नीतिहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बिरामीमा हुन सक्ने हानी न्यूनीकरण गर्न मद्दत गर्ने उहाँको भनाइ छ ।