• १ असोज २०८१, मङ्गलबार

च्याउ खेतीबाट आम्दानी गर्दै किसान

blog

कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा गरिएको व्यवसायिक च्याउ खेती । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, असोज १ गते ।
गत वर्ष घाटा खाएका च्याउ किसानले यस वर्ष भने राम्रो आम्दानी गर्न सफल भएका छन् । च्याउ खेतीमा राम्रो उत्पादन गर्दै आएको कालिका नगरपालिकाको पदमपुर क्षेत्रका किसानले अहिले मूल्य पाएका हुन् । दैनिक १५ क्वीन्टलसम्म उत्पादन गर्दै आएका किसानको प्रमुख बजार नारायणगढ हो । यही बजारबाट अहिले उनीहरुले उत्पादन गरेको च्याउ खपत भइराखेको छ ।

गत वर्ष यहाँका सबै च्याउ उत्पादन गर्ने किसानले मूल्य पाएका थिएनन् अहिले त्यो समस्या छैन ग्रामीण च्याउ कृषक समूहका अध्यक्ष प्रकास पौडेलले बताउनुभयो । ‘‘गत वर्ष प्रतिकिलो ६० देखि ७० रुपियाँमा बिक्री गर्न बाध्य भएका थियौं । अहिले कम्तीमा पनि एक सय ६० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । यो मूल्य हामीले व्यापारीलाई दिने हो ।’’ उहाँले भन्नुभयो ।
व्यापारीले खुद्रा पसलमा दिएर उपभोक्तासम्म जाँदा प्रतिकिलो दुई सय ८० देखि ३ सयभन्दा माथि हुने गर्दछ ।

अध्यक्ष पौडेलका अनुसार च्याउ उत्पादक किसानले प्रतिकिलो एक सय रुपियाँभन्दा तल बिक्री गर्नुपर्ने अवस्था आउँदा घाटा लाग्ने गर्दछ । गत वर्षको दसैंमा र त्यसपछि जाडो महिनामा च्याउले मूल्य पाएका थिएन । बजारमा माग कमी भएको र उत्पादन धेरै भएको कारण गर्त वर्ष घाटा लागेको उहाँले बताउनुभयो । समूहमा आवद्ध सबै किसानले धेरै घाटा व्यहोर्नु परेको थियो । व्यक्तिगत रुपमा मैले मात्रै १४ लाख रुपियाँ घाटा खाएका थिए अध्यक्ष पौडेलले बताउनुभयो ।

पदमपुर क्षेत्रमा १७ जना किसानले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको छ । यहाँ उत्पादन भएको च्याउको मुख्य बजार नारायणगढ भएपछि यहाँबाट राजधानी काठमाडौँसहित अन्य सहरमा जाने गरेको छ ।

नौ वटा टनेलमा च्याउ खेती गर्दै आउनुभएका कालिका नगरपालिका वडा नं. २ का रामबहादुर भण्डारीले घाम लागेर गमी धेरै भएको समय च्याउका लागि जोखिम हुने बताउनुभयो । तापक्रम मिलाउन नसक्दा उत्पादनमा कमी हुने उहाँको भनाइ छ । तापक्रमलाई ध्यान दिएर गरिने खेती भएकाले यसमा विषेश ध्यान दिनुपर्ने भण्डारीले बताउनुभयो । यस वर्ष वर्षा धेरै भएको तापक्रममा धेरै असर नपरेको कारण उत्पादन वृद्धि भएको छ । यस वर्ष मूल्य राम्रो पाएकाले सन्तुष्ट हुने अवस्था आएको उहाँको भनाइ छ ।

दैनिक दुई क्वीन्टल च्याउ उत्पादन गर्दै आउनुभएको भण्डारीले स्थायी र अस्थायी गरी १३ हजार १४० वर्ग फिटको टनेलमा च्याउ खेती गर्दै आउनुभएको छ । समूहमा आवद्ध किसानको मात्र ७० वटा टनेल रहेको छ ।

व्यवसायिक च्याउ खेती गर्ने किसानलाई सामग्रीमा सहयोग गर्दै आएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । ‘‘हरेक वर्ष अनुदानमा सहयोग गर्दै आएका छौं । केही गर्छौ भन्ने किसान र व्यवसायिक गर्दै आएकालाई सहयोग गर्ने गरेका छौं ।’’ उहाँले भन्नुभयो ।

पालिकाले चालु आर्थिक वर्षमा च्याउको बिउमा ५० प्रतिशत अनुदान दिएको छ । गत आर्थिक वर्षमा सङ्घीय ससर्तमार्फत आउने छ लाख रुपियाँ च्याउ खेती विकासका लागि खर्च भएको थियो । यस वर्ष पालिकाको आन्तरिक स्रोतबाट दुई लाख रुपियाँ छुट्टाइएको छ ।