• १ असोज २०८१, मङ्गलबार

तरकारीमा विषादीको अत्यधिक प्रयोग न्यूनीकरण गर्न जरुरी : कृषिमन्त्री

blog

कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी काठमाडौँको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकाेत्सव कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : मन्त्री अधिकारीको सचिवालय

काठमाडौँ, असोज १ गते । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ  । काठमाडौँको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकाेत्सव कार्यक्रममा बोल्नुहुँदै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पूरा हुन नसक्ने बताउनुभयो ।

आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको बक्यौता रकम भुक्तानीका लागि पहल गरको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले  भोग्न नपरोस् भन्ने चाहना रहेको  उल्लेख गर्नुभयो ।

तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो । विषादी न्यूनीकरणका लागि किसान दाजुभाइलाई मन्त्री अधिकारीले आग्रह पनि गर्नुभयो । किसान र सम्बन्धित निकायबिच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले  यो खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले बताउनुभयो  । 

किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै  कृषि बजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिनुभयो ।