बाह्र महिनाका १२ आदित्यमध्ये भदौ महिना इन्द्रको विशेष महिना मानिन्छ । नेपाल भाषामा यसबेलाका देवतालाई ञँलाद्यो भनिन्छ । ञँलाद्यो अर्थात् इन्द्रको पूजा, उत्सव जात्रा यहीबेला नै सम्पन्न गरिन्छ । प्राचीनकालमा इन्द्रको उत्सवलाई इन्द्रमह भनेर वर्णन गरिएको पनि पाइन्छ ।
इन्द्रजात्रा नेपालमा मनाइने विभिन्न जात्रामध्ये एक अत्यन्त प्राचीन जात्रा हो । संस्कृतिविद्का अनुसार दसैँतिहार, फागुपूर्णिमाभन्दा पनि इन्द्रजात्रा अझ पुरानो चाडका रूपमा रहेको छ । भदौ शुक्लपक्षको बामन द्वादशीका दिन हनुमानढोका कालभैरवअगाडि भक्तपुरको नालाबाट मानन्धर गुथिले गुरुजु पल्टनका साथ विधिपूर्वक ल्याएको ३२ हाते काठको लिङ्गो उठाएपछि यो जात्रा सुरु हुने परम्परा छ । भाद्रशुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म जम्मा आठ दिन इन्द्रजात्रा भव्य रूपमा मनाइन्छ ।
नेपाल भाषामा इन्द्रजात्रालाई याँया वा याँको चाड भनिन्छ । याँ शब्दका तीन वटा अर्थ हुन्छन्– इन्द्र, शरद ऋतु र काठमाडौँ । यस चाडलाई इन्द्रसँग सम्बन्धित इन्द्रजात्रा भने पनि अरू दुई वटा अर्थमा समेत यस जात्राको प्रसङ्ग मिलेको देखिन्छ । नेपाल संवत्को ञँलाथ्व र ञँलागामा यो चाड मनाइन्छ, जुन भदौको उत्तरार्ध र आश्विनको पूर्वार्धतिरको समय पर्छ । अर्काे पक्ष यसलाई विस्तृत रूपमा काठमाडौँ सहरमा नै मनाउने गरिन्छ । हनुमानढोका दरबारअगाडि द्वादशीका दिन लिङ्गो ठड्याएपछि रथयात्रा गरेर इन्द्रजात्रा सुरु गरिन्छ ।
यस चाडमा इन्द्रको मात्र पूजा नभएर कुमारी र भैरवको पनि महत्वपूर्ण स्थान रहेको छ । इन्द्रजात्राकै अवसरमा कुमारी, भैरव, गणेश आदिका रथयात्रा पनि समावेश गर्ने गरिन्छ । यी देवीदेवताको रथयात्रा थपेपछि यो जात्रा झन् समृद्ध बन्न पुगेको देखिन्छ । चतुर्दशी, पूर्णिमा र चौथीका दिन बेलुका जीवित देवी कुमारी, गणेश र भैरवलाई तीन वटा रथमा राखेर शोभायात्रा गरिन्छ ।
रथयात्रा गर्नुपूर्व कुमारी घरअगाडि राखिएको कुमारी रथको अगाडि मृगस्थली र थापाथली गोरखनाथ अखडाबाट चार नाथ योगी आउँछन् । उनीहरूले एउटा कालो बोका बलि चढाई ‘दर्शन जोगी चक्र’ पूजा गर्ने गर्दछन् । पूजा गर्न आउने जोगीहरूले रथजात्रामा कुनै प्रकारको व्यवधान नहोस् र देशमा शान्ति कायम होस् भन्ने उद्देश्यले पूजा गर्ने गर्दछन् । पूजामा कुमारीको रथअगाडि जाँडले भरिएका पाँच वटा मझौला खालका घ्याम्पा ‘क्वूचा’ पङ्क्तिबद्ध गरेर राखिन्छ । त्यसमाथि रोटी र चिउरा राखिएको भेगुट राखी सेतो कपडाले छोपिएको हुन्छ । घ्याम्पाअगाडि एउटा नरिवल राखेर योगीहरूले तान्त्रिक विधिबाट पूजा गर्ने गर्दछन् । पूजापछि १० दिशा, अष्टभैरवका साथै कुमारी, गणेश र भैरवका तीन वटै रथका पाङ्ग्रालाई ती पाँच वटा घ्याम्पाका जाँडमा चिउरा मिसाएर अर्पण गरिन्छ ।
कुमारी रथ तीन तलाको हुन्छ । हाल यस रथलाई २० वटा मयूर, चार कुनामा गरुडको मूर्तिले सजाइने गरिएको छ । गणेश र भैरवको खटमा पनि छ÷छ वटा गरुडका मूर्तिले सजाइने गरिएको छ । जात्राको सुरुमा चार जना मोही र पुही नाइकेले गणेश र भैरव देवतालाई क्रमशः न्युरोड र ओमबहालमा पूजा गरी बाजागाजासाथ दरबार स्क्वायरस्थित कुमारीघरमा ल्याउने गर्दछन् । त्यसपछि तलेजुको अचाजुले विधिपूर्वक कुमारी, गणेश र भैरवलाई पूजा गरी रथमा विराजमान गराउँछन् । रथ स्थानीय माहाने गुठीका ६० जना सदस्यले तान्ने गर्छन् ।
पहिलो दिन अर्थात् चतुर्दशीका दिन कुमारी, गणेश र भैरवलाई बेग्लाबेग्लै रथमा तानेर माथिल्लो टोल प्याफल, यट्खा नरदेवी, टेङ्गल, बाङ्गेमुढा, न्ह्यखाः न्हयायकतला, असन, इन्द्रचोक र मखन हुँदै वसन्तपुर पु¥याइन्छ । अन्तिम दिन अर्थात् भाद्र कृष्णपक्ष चतुर्थीका दिन नानीचायाः भनी रथलाई वसन्तपुरमा कुमारी, गणेश र भैरवलाई रथारोहण गराई प्याफल, यट्खा, नरदेवी, किलागल, भेडासिङ, इन्द्रचोक, मखन आदि टोलको परिक्रमा गराई देवीदेवतालाई कुमारीघर भिœयाएपछि राष्ट्रपतिले उनीहरूको हातबाट टीका ग्रहण गर्ने परम्परा छ । त्यसपछि शुभसाइत हेरेर हनुमानढोका परिसरमा ठड्याएको लिङ्गो ढाली बागमतीमा सेलाइन्छ ।
रथयात्राका क्रममा सांस्कृतिक बाजागाजा, पन्चैबाजा, ब्यान्डबाजा, गुरुजुको पल्टन र पञ्चबुद्ध सहभागी हुन्छन् । रथयात्राका क्रममा हल्चोकको आकाशभैरव, मजिपात लाखे, किलागलका पुलुकिसीलाई पनि नचाउँदै सँगै यात्रा गराइन्छ । रथयात्रा इन्द्रचोक र हनुमान ढोका परिसरमा पुग्दा त्यहाँ रहेका आकाशभैरव र हनुमानढोका दरबार परिसरमा धिमेबाजाको तालमा श्वेतभैरवको मुखमा जडित नलीबाट जाँडको धारा बगाई देवीदेवतालाई समय्बजी र जाँड पनि चढाइने गरिन्छ । पहिले पहिले पुरुषले मात्र यस्तो जाँड प्रसादका रूपमा खाने चलन थियो भने हालका वर्षमा महिलाले पनि यसप्रकारको भैरवको मखबाट निस्केको जाँड प्रसादका रूपमा खाने चलन छ ।
नेवारी खानाको समृद्धि, ८४ व्यञ्जनको पहिचान प्रवर्धन, कलाकृतिको पहिचान प्रदर्शनसमेतलाई ध्यानमा राखी सार्वजनिक देवस्थलमा राख्ने गरिएको बताइन्छ । कुमारी रथारोहणपछि भाद्रशुल्क पूर्णिमाका दिनमा एकप्रकारको दियो बत्ती ‘दलचा’ को पूजा गरी भक्तजनलाई प्रसादका रूपमा समय्बजी बाँड्ने चलन छ । यो चलन कान्तिपुरका राजा जयप्रकाश मल्लले कुमारीका लागि आफ्नो दरबारसँगै कुमारीघर बनाउन सकिएको उपलक्ष्यमा कान्तिपुरवासीलाई दुई माना चिउरा र आठ/आठ टुक्रा पोलेको मासु छोयला वितरण गरी ‘देय् भ्वय्’ भनी भोज खुवाएका थिए । त्यसैको स्मरणमा आजसम्म यो चलन चलेको हो भन्ने कुरा संस्कृतिविद् बताउँछन् ।
इन्द्रजात्रामा कुमारीको रथयात्रा अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । सोही अवसरमा कुमारी घरअगाडि राखिएको कुमारी रथको अगाडि मृगस्थली र थापाथली गोरखनाथ अखडाबाट चार नाथ योगी आएर उनीहरूले एउटा कालो बोका बलि चढाई दर्शन जोगी चव्रm पूजा गर्ने गर्दछन् । पूजा गर्न आउने जोगीहरूले रथजात्रामा कुनै प्रकारको व्यवधान नहोस् र देशमा शान्ति कायम होस् भन्ने उद्देश्यले पूजा गर्ने गर्दछन् ।
कुमारीको रथयात्रा सकिएपछि कुमारीबाट गाईदान पनि गराइन्छ । जुनबेला पनि कुमारीघरबाट बाहिर निस्कन नहुने हुनाले वसन्तपुरस्थित कुमारीघर सामुन्ने रहेको डबलीमा गाई बाँधेको डोरी घरको दोस्रो तलाको झ्यालमा जीवित देवीलाई समात्न लगाएर विधिपूर्वक ब्राह्मणलाई दान गराइन्छ । इन्द्रजात्राका अवसरमा कुमारीलाई नगर परिक्रमा गराउँदा भएको छुवाछुतको दोषबाट मुक्त गराउन यसप्रकार गाईदान गराउने परम्परा चलेको हो भनिन्छ । गाईदान पूजा गराउन कान्तिपुरका १७ औँ शताब्दीका राजा प्रताप मल्लको ऐतिहासिक खड्ग बोकेर तलेजु भवानीका पुजारी आउने गर्छन् ।