• १ असोज २०८१, मङ्गलबार

कोशी प्रदेशका अठहत्तर सहकारी उच्च जोखिममा

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज १ गते । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयले प्रदेश कार्य क्षेत्र रहेका १०७७ वटा सहकारीमध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । 

कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा ४० वटा मध्यम जोखिममा र तीन वटा न्यून जोखिममा रहेका छन् ।  

कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले कोशी प्रदेशका १४ मध्ये भोजपुरबाहेक सबै जिल्लाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । 

सहकारी डिभिजन कार्यालय विगठन भएपछि सहकारी विभागले एउटा स्थानीय तहमा मात्र कार्य क्षेत्र रहेका सहकारीलाई सोही पालिकाले अनुगमन, नियमन र निरीक्षण गर्ने  कानुनी व्यवस्था गरेको थियो ।