• १ असोज २०८१, मङ्गलबार

एसियाली कराते खेल्न चीन जाँदै नेपाली टोली

blog

एसियाली सिनियर करातेमा सहभागी हुने टोली अतिथिसाथ ।

काठमाडौँ, भदौ ३१ गते । करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९औँ एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो । 

त्यो एसियाली खेलकुदमा कुनैपनि नेपाली कराते खेलाडीले प्राप्त गरेको हालसम्मकै एक मात्र रजत पदक हो । चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममै एसियाली क्षेत्रको करातेको सबै भन्दा ठुलो प्रतियोगिता एसियाली सिनियर करातेको २०औँ संस्करण सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ । यही प्रतियोगितामा एरिकासहित ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मङ्लबार हाङझाव प्रस्थान गर्दैछ ।

एरिकाले १९औँ एसियाली खेलकुदमा सहभागिता जनाएको महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । त्यस्तै महिला ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले प्रतिस्पर्धा गर्नुहुनेछ । एसिलाले एकल कातामा पनि आफ्नो कौशला प्रदर्शन गर्नुहुनेछ ।

यस्तै पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष् श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । 

नेपालका सबै खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यसमध्ये एरिकासहित सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसाले १९औँ एसियाली खेलकुदमा भाग लिनुभएको थियो । 

टोलीको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ र प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ हुनुहुन्छ । 

टिम व्यवस्थापकमा नेपाल कराते महासङ्घका उपाध्यक्ष मजेन्द्र सिंह र रवि महर्जन हुनुहुन्छ । एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ । प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासङ्घको कंग्रेसमा सहभागी हुन नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जानुहुन्छ । प्रतियोगितामा ३१ राष्ट्रका तीन सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा नौ र महिलामा आठ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सोमबार बिदाइ गर्नुभयो ।