• २४ असोज २०८१, बिहिबार

छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का लागि कथा आह्वान

blog

काठमाडौँ, भदौ ३१ गते । छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।

कथा लेखनको संवर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको बाह्रखरी मिडियाले जनाएको छ ।

प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले इमेल गरेर कथा पठाउनुपर्ने बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले बताउनुभयो । उहाँले नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने पनि बताउनुभयो ।

कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्ने, अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्‍याएर पठाउन नपाउने, कथा अप्रकाशित र अप्रसारित हुनुपर्ने, नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न नपाइने, छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिने बताउनुभयो ।

उहाँले ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य रहेको बताउनुभयो ।

त्यस्तै  कथा कम्तीमा एक हजार ५ सय शब्द र बढीमा चार हजार शब्दसम्मको हुनुपर्ने, कथा वर्ड फाइलमा मात्र पठाउनुपर्ने, प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्ने बाह्रखरी मिडियाले जनाएको छ ।

प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्ने पनि प्रधान सम्पादक प्रधानले बताउनुभयो । उहाँले १२ खरी कथा लेखन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको समेत बताउनुभयो ।