• २१ पुस २०८१, आइतबार

भुक्तानी नपाएपछि ठेकेदारले रोके काम

blog

भेरी नदीमा रहेको पुरानो र जीर्ण झोलुङ्गे पुल ।

छिन्चु समाचारदाता

सुर्खेत, भदौ ३१ गते । सुर्खेतका दुई पालिका जोड्ने पक्की पुलको निर्माण गरिरहेका ठेकेदारले काम गरे अनुसारको भुक्तानी नपाएको भन्दै निर्माणको काम रोकेका छन् । भेरीगङ्गा नगरपालिका–११, रामघाट र लेकबेँसी नगरपालिका–४, दशरथपुर जोड्ने भेरी नदीमा निर्माणाधीन पक्की पुलमा काम गरेको रकम भुक्तानी नपाएपछि निर्माणको काम रोकिएको हो ।

निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा पूर्वी सुर्खेतका स्थानीयले बर्सौदेखि सास्ती भोग्नु परेको छ । लेकबेँेसी नगरपालिका र भेरीगङ्गा नगरपालिका जोड्ने दशरथपुर–रामघाट झोलुङ्गे पुलसमेत जीर्ण बन्दै गएको छ । पक्की पुल नबन्दा कठिनपूर्ण यात्रा गर्न बाध्य बनेको लेकबेँसी नगरपालिकाका स्थानीय बताउँछन् । हाल झोलुङ्गे पुलको तार चुँडिएको छ भने पुलमा आउजाउ गर्नसमेत समस्या हुने गरेको छ । बिरामीलाई स्टे«चरमा राखेर ओहोरदोहोर गर्नसमेत गाह्रो भइरहेको छ । दैनिक स्थानीय बासिन्दा तथा मोटरसाइकल ओहोरदोहोर गर्ने पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको लेकबेँसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले बताउनुभयो । 

उहाँका अनुसार हाल २३ किलोमिटर लामो दुरीमा रहेको जहरेपुलबाट लेकबेँसीका बासिन्दाले सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । विसं २०६० मा सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही पक्षका तर्फबाट ढालिएको पुल २०६४ सालमा पुनर्निर्माण गरिएको थियो । अहिले उक्त झोलुङ्गे पुल पनि जीर्ण अवस्थामा छ । यता सडक डिभिजन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार भेरी नदीमा बन्ने १५४ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माणको काम रोकिएको छ । कार्यालयले २०७९ माघ २२ गते ३२ करोड ६३ लाख १५ हजारमा अनक कन्स्ट्रक्सन कम्पनी काठमाडौँसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०८३ असार १४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । हालसम्म ३४ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ । कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलका अनुसार दुई वटा फाउन्डेसन निर्माण सकिएको छ तर कम्पनीले काम गरेको रकम भुक्तानी नपाउँदा करिब दुई महिनादेखि काम ठप्प छ । कम्पनीले हालसम्म तीन करोड ९८ लाख मात्र भुक्तानी पाएको छ । बाँकी भुक्तानी नपाएपछि पुल निर्माणको काम रोकिएको जनाइएको छ । गत आवमा पुल निर्माणका लागि एक करोड ४१ लाख बजेट विनियोजन गरिएको थियो ।