• ६ मंसिर २०८१, बिहिबार

सालक जोगाउन कृत्रिम देवल

blog

चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले सालकका लागि निर्माण गरिदिएको धमिराको देवल (बायाँ), सालक पार्कमा निर्माण गरिएको सालकको प्रतिमा ।

अनिल पराजुली

हेटौँडा, भदौ ३१ गते । चुच्चेखोला सामुदायिक वनभित्र प्राकृतिक रूपमा धमिराका देवल देख्न कठिन छ । मान्छेले देख्न नपाउँदा त्यसको खासै असर पर्दैन तर तिनै देवलमा आहारा खोज्ने दुर्लभ तथा लोपोन्मुख सालकका लागि आहारकै सङ्कट हुँदै गएकोे छ । 

वनजङ्गलमा रुखका ठुटामा लाग्ने धमिराले भित्रभित्रै काठ खाँदा देवल ठडिँदै जान्छ । तिनै देवलमा रहेका धमिरा सालकका आहारा हुन् तर ती नै नासिँदा सालक सङ्कटमा परेको हो । 

यस अवस्थामा मकवानपुरको हेटौँडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले बेग्लै जुक्ति निकालेको छ । स्तनधारी जनावर सालकको आहारका लागि धमिराको घर निर्माण गरिदिएर पारिस्थितिकीय प्रणाली सञ्चालन गर्न कृत्रिम आहार व्यवस्थापनको काम उपभोक्ता समूहले गर्न थालेको छ । 

वनभित्र जाँदा सालका झिँजामिजामा धमिरा र कमिला जम्मा भएको देखेपछि स्थानीय उपभोक्ताले सालकको आहार जोहो गरिदिने सोच बनाएका हुन् । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव एवं व्यवस्थापक केदारप्रसाद गौतमका अनुसार सुरुमा दुई स्थानमा दुई मिटर लम्बाइ र चौडाइका खाल्डो खनियो । त्यसपछि सबैभन्दा पहिले खाडलमा सालका झिँजामिजा हालियो अनि कार्टोन र त्यसमाथि माटोले पुरियो । यो प्रक्रिया दोहो¥याइयो । अहिले त्यहाँ कमिला र धमिराको गोलो लागेको छ । धमिराले माटो बोकेर छ फिट अग्लो देवल बनाइसकेको छ । 

करिब तीन वर्षको मेहनतपछि समूहले वनभित्र दुई वटा धमिराको देवल बनाउन सफल भएको जानकारी दिँदै उहाँले यस वर्ष अरू चार वटा थप्ने तयारी गरिएको बताउनुभयो । 

दुई सयको हाराहारीमा रहेका सालक जोगाउन समूह लागेको छ । समूहका अध्यक्ष लक्ष्मण कटुवालले मान्छे जस्तै वन्यजन्तुलाई पनि खानाको आवश्यकता पर्ने भएकाले वन्यजन्तुका लागि पनि आहारको जोहो गरिदिनु समूहको काम भएको बताउनुभयो । उक्त वनमा जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका सालकको संरक्षण गरिँदै आएकाले उचित तवरले वासस्थान र आहाराको पनि हामीले व्यवस्था मिलाएको उहाँले भन्नुभयो । जिल्लाको सबै क्षेत्रमा पाइने शान्त एवं लजालु स्वभावको स्तनधारी जनावर सालक माटो खुकुलो बनाउने र किसानको अन्नबालीलाई हानि नगर्ने भएकाले सालक किसानमैत्री वन्यजन्तुका रूपमा चिनिएको डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत वसन्तराज गौतमले बताउनुभयो । 

संसारमै दुर्लभ मानिएका आठ प्रजातिका सालकमध्ये यहाँको वन क्षेत्रमा कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) पाइन्छ । किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीको गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । मकवानपुरका चार सय वटा सामुदायिक वनमध्ये सय वटा वन क्षेत्रमा सालक देखिएका छन् । मकवानपुरका दुई वटा सामुदायिक वनले भने सालकको चोरीसिकारी र तस्करी रोक्दै संरक्षणको अभियान नै चलाएका छन् । 

चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहसँगै हेटौँडा–६ मै रहेको चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले पनि घाइते र उद्धार गरिएका सालकको संरक्षण गर्दै आएको छ । विभिन्न स्थानमा फेला परेका घाइते सालकको उपचारका लागि खोर बनाइएको छ । चोरीसिकारीबाट फेला परेका सालकसमेत संरक्षणका लागि वनमा ल्याएर छाड्ने गरिएको छ । सामुदायिक वनको प्रयासमा डिभिजन वन कार्यालय हेटौँडा र राप्तीले विशेष सहयोग गरेको छ । समूहले २०६३ सालदेखि किसानको साथीका रूपमा रहेको सालकको संरक्षण गर्दै आएको छ । सालकको संरक्षण, व्यवस्थापन र यसको प्रचारप्रसारका लागि समूहले चौघडा बजार र पिस पार्कमा सालकको प्रतिमा निर्माण गरिएको समूहका कार्यालय सचिव गौतमले जानकारी दिनुभयो । 

जनावरको अवस्था बुझ्न गरिएको क्यामरा ट्यापिङका क्रममा चुच्चेखोला वनमा सालक, चरीबाघ, सुनगोहोरो, ठोटरी, मृग, रतुवा, चितुवा, बँदेल, दुम्सी देखिएको समूहले जनाएको छ । लुइँचे, कालिज, मयूरलगायतका पन्छी पनि रहेको जनाइएको छ । यहाँ वज्रठिङ्गा, रिट्ठा, बेल, श्रीखण्ड, मजिठो, गोकुल धूप, हर्रोबर्रोलगायतका जडीबुटीजन्य वनस्पति पनि पाइने गरेको उल्लेख छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, २६ (१) अनुसार सालक पक्रने, सिकार गर्ने खपटाको व्यापार तथा ओसारपसार गर्नेलाई पाँच लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । मारेमा वा खाएमा १० वर्ष कैद वा १० लाख रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।