• २१ पुस २०८१, आइतबार

एन्फा महिला लिग : एपिएफ शीर्षस्थानमा

blog

बल अगाडि बढाउँदै एपिएफकी खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौँ, भदौ ३० गते । कर्णाली प्रदेशलाई फराकिलो अन्तरले हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा महिला लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एपिएफले कर्णाली प्रदेशलाई ६–० गोलले हरायो । एपिएफले पहिलो र दोस्रो हाफमा समान तीन तीन गोल गरेको थियो ।

एकपक्षीय खेलमा एपिएफलाई जिताउन रश्मिकुमारी घिसिङले दुई गोल गर्नुभयो । हिमा रावत, निशा थोकर र गीता रानाले एक एक गोल थप्नुभयो । एपिएफले अर्को गोल कर्णाली प्रदेशबाट आत्मघाती उपहार पाएको थियो ।

जितसँगै पाँच खेलबाट १३ अङ्क बनाएको एपिएफ शीर्षस्थानमा उक्लिएको हो । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको समान खेलबाट ११ अङ्क छ । आइतबार नै भउको अर्को खेलमा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

बराबरीसँगै चचन्द्रपुरले चार खेलबाट ६ अङ्क बनाएको छ । बागमतीको समान खेलबाट चार अङ्क छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । 

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।