• १० मंसिर २०८१, सोमबार

तेलपानी–भुरीगाउँ सडक प्राथमिकतामा

blog

बुलबुले समाचारदाता

सुर्खेत, भदौ ३० गते । सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । चालु आवमा प्रदेश सरकारले सडक निर्माणको काम अघि बढाउन आठ करोड बजेट विनियोजन गरेको छ । कर्णाली र लुम्बिनी प्रदेश जोड्ने मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई प्राथमिकताका साथ राखेको हो । 

यो सडक आयोजना नयाँ भने होइन । प्रदेश सरकारले आव २०७५/७६ देखि सडक निर्माण योजना अघि बढाएको हो । सडक निर्माणको काम भने आव २०७६/७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भए पनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । 

सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य राखेको छ । पहिलो खण्ड मूलपानी, फँलाटे–रानीघाट सडक निर्माणको कामलाई अघि बढाइएको थियो । १० किलोमिटर सडक निर्माणका लागि कामको सम्झौता गरिएको पनि हो । आव २०७६/७७ बाट उक्त काम सुरु गरिएको हो । २०७६ पुस ९ देखि २०७८ फागुन ८ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको हो । १० करोड २६ लाख ६१ हजारमा पूर्वाधार विकास निर्देशनालय सुर्खेत र श्याम एन्ड शङ्कर कन्स्ट्रक्सन सुर्खेतसँग सम्झौता भई काम अघि बढेको थियो । 

पुनः मूलपानी–फँलाटे–रानीघाट सडक निर्माणका लागि २०७९ माघ १९ गते कविर–काक्रे कन्स्ट्रक्सनसँग दुई करोड ७५ लाखमा ठेक्का सम्झौता गरियो । २०८० मङ्सिर १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी कामको सम्झौता भएको हो । हालसम्म सात सय मिटर सडक कालोपत्रेको काम सकिएको छ । यो वर्ष रानीघाटसम्म कालोपत्रेको काम अघि बढाइने निर्देशनालयका इन्जिनियर वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो । बजेट अनुसार पहिलो खण्डको काम सकिएको छ भने यो वर्षका लागि बाँकी कामको सम्झौता गरिने बताइएको छ ।

दोस्रो सडकखण्डका रूपमा रानीघाट–तेलपानी–भुरीगाउँ सडक निर्माणलाई अघि बढाइएको छ । २०७७ असार ५ देखि २०७८ फागुन १६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो । एक पटक म्याद थपेर २०८२ माघ २२ गतेसम्म सडक निर्माण गर्ने गरी काम अघि बढाइएको छ । 

१३ करोड दुई लाखमा निर्देशनालय र थोदुङ जागृति जेभीसँग सम्झौता भएको हो । उक्त निर्माण क्षेत्र वनजङ्गल निकुञ्जको संरक्षित क्षेत्र भएकाले अहिले निर्माणको काम रोकिएको पूर्वाधार विकास निर्देशनालयले जनाइएको छ । उक्त खण्डको बाँकी काम अघि बढाउन यो वर्ष ५० लाख रुपियाँ विनियोजन गरिएको छ । दोस्रो खण्डको काम हालसम्म १० प्रतिशत भएको छ । यो वर्ष बाँकी काम अघि बढाइने छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँ अम्रेनीदेखि सुर्खेतको वराहताल गाउँपालिकामा रहेको तेलपानी हुँदै कर्णालीसम्म चिठीपत्र पु¥याउन २०२५ सालमा तत्कालीन जिल्ला पञ्चायतले हुलाकी सडकको ट्रयाक खोलेको थियो । कर्णालीका सर्वसाधारणले बर्दिया पुग्न यही बाटो प्रयोग गर्दथे । बर्खाको बेलाबाहेक उक्त सडकमा सार्वजनिक साना सवारीसाधनबाट यात्रु बोक्ने गरिएको छ तर सडक विस्तार र मर्मत हुन नसकेका कारण बर्खाभरि सवारीसाधन बन्द हुने गरेका थिए ।