• १९ पुस २०८१, शुक्रबार

‘अर्हत’ र ‘उर्वरा’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । शैलेन्द्र अधिकारीको ‘अर्हत’ उपन्यासको शनिबार सार्वजनिक गरिएको छ । उपन्यासको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थवीरलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।

पत्रकार उमेश चौहानले बुद्ध आध्यात्मिक व्यक्तित्व भएको र उनको प्रभाव राजनीतिमा झन् बढी रहेको बताउनुभयो । बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने उहाँको तर्क थियो । उहाँले यस दिशातर्फ प्रेरित गर्न अर्हत उपन्यासमा प्रशस्त गुण रहेको बताउनुभयो ।

साहित्यकार नवराज लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव बुद्ध रहेको धारणा राख्नुभयो । उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको हो । 

यसै गरी उपन्यासकार नारद पोखरेलको चौथो उपन्यास ‘उर्वरा’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । साहित्यकार नगेन्द्रराज शर्माले ‘क’ देखि ‘ज्ञ’ सम्मका बैग्लाबेग्लै अग्र शब्दबाट शीर्षक राखेर नेपाली आख्यान साहित्यमा उपन्यासकार पोखरेलले सफल प्रयोगात्मक लेखन गर्नुभएको चर्चा गर्नुभयो ।

साहित्यका शर्माले ‘उर्वरा’ मार्फत प्रयोग गरिएको आख्यानलेखनको नवीन शैलीले नेपाली साहित्यमा एउटा मानक इँटा थपेको बताउनुभयो ।

आख्यानकार माया ठकुरी, कवि विधान आचार्य, उपन्यास समाज अध्यक्ष शङ्कर भारती, टिप्पणीकार अनुपमा रेग्मी, गीतकार सङ्का अध्यक्ष वसन्त थापा, साहित्यकार माधव बिडारी चेतनपथ, कवि भेषराज पोखरेललगायतले उपन्यासकार पोखरेलको लेखन प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो ।