• २९ भदौ २०८१, शनिबार

रोचक चनढुङ्गा

blog

काठमाडौँ उपत्यकामा कति धेरै सम्पदा तथा धरोहर छन् । धेरै हुँदा केही सम्पदा गुमनाम छन् । गुमनाम जस्तै बनेका वा कमै मात्रा लेखिएका एउटा पर्यटकीय आकर्षण केन्द्रबारे चर्चा गर्न आएको छु । आजकल एकदिने यात्रा धेरै जसोको रोजाइमा पर्ने गर्छ । हिँड्न सक्नेहरू पैदलै पुग्ने गरेका छन् भने हिँड्न नसक्नेहरू निश्चित गन्तव्य बनाएर कतै यात्रामा जाने गरेका छन् । एकल होस् कि सामूहिक यात्रा होस्, त्यही अनुसारको साधन रोज्न सकिन्छ । 

तपाईं पनि यसरी गन्तव्य बनाएर कतै साप्ताहिक बिदा वा कुनै अवसरमा घुम्ने सोचमा हुनुहुन्छ भने यो उपयुक्त हुन सक्छ । गन्तव्य सुन्दर छ, नजिक पनि छ । त्यसैले रमाइलो हुने छ । काठमाडौँको कोलाहलबाट बाहिर निस्किसकेपछि एक ठाउँको यात्रामा निस्किँदै गर्दा रम्नका लागि धेरै प्राकृतिक उपहार भेटिन्छन् । काठमाडौँमा बसोबास गर्नेहरूको एकदिने यात्राको गन्तव्य सही हुन सक्छ । काठमाडौँमा तपाईं जहाँ बस्नुभए पनि कोटेश्वर हुँदै सातदोबाटोको यात्रा तय गर्नुहोस् । त्यहाँबाट चापागाउँ हुँदै कोलाहलबाहिर निस्किने हो भने मनमोहक प्राकृतिक सुन्दरताको दर्शन गर्न पाइन्छ । एकातिर कोलाहल छैन भने अर्कोतिर मनमोहक दृश्यावलोकन पनि गर्न पाउनुहुन्छ । गन्तव्य उपत्यकाभित्रकै ललितपुर जिल्लामा पर्छ । कोन्ज्योसोम गाउँपालिकाको भार्देउ हुँदै जाने हो । गन्तव्य त अलि बाँकी नै छ तर अघि भने झैँ एउटाको यात्रा गर्दा अर्को सुन्दरता भेटिहालिन्छ । कोन्ज्योसोमकै कुरा गरौँ । ब्रह्मा, विष्णु, महेश्वरको संयुक्त रूपलाई तामाङ भाषामा कोन्ज्योसोम भनिन्छ । त्यताबाट अगाडि बढ्दै जाँदा कोलाहल र प्रदूषण कम हुँदै जान्छ भने हरियाली र प्राकृतिक सुन्दरताले बढी स्थान लिँदै जान्छ । भार्देउदेखि अगाडि बढ्ने क्रममा सिँगानेभन्ज्याङ हुँदै अगाडि बढ्नु पर्छ । यो भार्देउ गोटीखेल सडकखण्डको बाटो हुँदै यात्रा गर्ने हो । करिब २२ किलोमिटरको यात्रा गर्दा बल्ल गोटीखेल पुगिन्छ । यो महाङ्काल गाउँपालिकामा पर्छ । तपाईं त्यस क्षेत्रको यात्रामा सहभागी हुनुहुन्छ भने स्वच्छ हरियाली र हिमालको अवलोकनले यात्रालाई थप सुन्दर बनाउँछ । 

गोटीखेल एउटा सानो बजार हो । मूलखोला, धामीखोला र मसानखोलाको सङ्गमनजिकै रहेको गोटीखेल खुवाका लागि प्रसिद्ध मानिन्छ । यहाँको खुवा टाढा टाढासम्म अर्डर हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । प्राचीनकालमा यमराजले महादेवको तपस्या गर्दा उक्त त्रिवेणीमा नुहाएको भएर सो खोलालाई कालमोचन खोलासमेत भनिन्छ ।

गोटीखेलमा चनढुङ्गा पनि छ । खास हाम्रो यात्रा यहीँसम्मको हो । यो लगनखेलबाट करिब ५५ किलोमिटर टाढा पर्छ । प्राकृतिक सुन्दरतामा रम्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो चनढुङ्गा । हेर्दा अचम्मको छ । कालिगडले प्रयोग गर्ने लिही जस्तै एउटा ढुङ्गा बसेको छ । त्यही ढुङ्गामाथि विशाल चट्टान अडिएर बसेको छ । हत्केला जस्तो सानो ढुङ्गामाथि विशाल चट्टान अडिएको चनढुङ्गा अचम्मलाग्दो छ । पटक पटकका भूकम्प र प्राकृतिक प्रकोपमा समेत यो ढुङ्गा यसै गरी अडिएर रहनुमा दैवीशक्ति रहेको स्थानीयवासीको विश्वास छ ।  हेर्दा रोचक जसलाई पनि लाग्न सक्छ । तल ढुङ्गा अडिने ठाउँ सानो छ । पटक पटक आएको ठुला ठुला भूकम्पमा पनि केही नभएको त्यो ढुङ्गा हेर्दा चाहिँ लाग्छ कि हावा चल्यो भने हावाकै कारण ढल्न सक्छ तर सदियौँदेखि त्यसरी नै अडिएर बसेको स्थानीय बासिन्दा बताउँछन् । 

स्थानीय बासिन्दाले किंवदन्ती पनि सुनाए । किंवदन्ती अनुसार उहिले कालदेवताले त्रिवेणीमा स्नान गरी यसै ढुङ्गामा चन्दन घोटेर कालेश्वरलाई चढाउने गर्दथे रे । त्यही चन्दन ढुङ्गालाई नै अहिले चनढुङ्गा भन्न थालिएको स्थानीयवासीको विश्वास छ । यो सुन्दर पर्यटकीय स्थल हो । हेर्दा रोचक लाग्ने यो ढुङ्गामा पछिल्लो समय भने टिकटक बनाउने र फोटो खिच्न जानेहरू भेटिने गरेका छन् । प्राकृतिक सुन्दरतालाई मन पराउनेका लागि राम्रो र नजिकको गन्तव्य हुन सक्छ । 

किंवदन्ती र धार्मिक विश्वास मात्र होइन, आफूलाई प्राकृतिक मनोरम दृश्यमा फ्रेस बनाउन चाहनेका लागि पुग्नैपर्ने काठमाडौँ उपत्यकानजिकको एक गन्तव्य हो । कोलाहलभन्दा बाहिर निस्किँदा हुने शान्त र ताजापनलाई यो चनढुङ्गाले यात्रामा थप रौनकता ल्याउँछ । 

चनढुङ्गा र कालेश्वर महादेव जस्तै सयौँ धार्मिक स्थल महाङ्काल गाउँपालिकामा छन् । पौराणिक तथ्य खोजेर तिनका आधारमा वैतरणीधाम, कालेश्वर महादेव जस्ता प्रमुख तीर्थको प्रचार गर्न सकेमा पर्यटन फस्टाउन सक्छ । काठमाडौँ उपत्यकाबाट जानेका लागि कालेश्वर महादेव पुग्नुअघि वैतरणीधाम भेटिन्छ । महाङ्काल गाउँपालिका–३ स्थित गोटीखेलमा रहेको वैतरणीधामको ठुलो महत्व छ । जलाशय बनाएर यसको वरिपरि कलात्मक ढुङ्गेधाराबाट पानी झर्ने व्यवस्था गरिएको छ । यहाँ शिवलिङ्ग, हनुमान, तारकेश्वर महादेवको मन्दिर, गौशाला र धर्मशाला पनि छ । यहाँबाट कालेश्वर जाने क्रममा बिचमा भेटिने ढुङ्गा नै चनढुङ्गा हो ।  

किंवदन्ती अनुसार सतीदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर संसार भ्रमण गर्दा कालेश्वरमा आई कण्ठ पतन भएको र त्यस ठाउँमा कालेश्वर महादेव उत्पत्ति भएको हो । इन्द्रजात्राको समयमा कालेश्वर महादेवजात्रा लाग्ने गर्छ । प्रचारप्रसार गर्न सकेमा महाङ्कालमा चनढुङ्गा, कालेश्वर र वैतरणीधाम जस्ता अन्य धेरै सम्भावनायुक्त स्थल रहेका छन् । महाङ्काल गाउँपालिकामा यसबाहेक महाङ्कालस्थान, पालाजु झरना, सुम्बा झरना, लाम्राङ गढी र लुम्टुङ गुम्बा प्रमुख पर्यटकीय गन्तव्य हुन् । गाउँपालिकाले आफ्नो स्थानबाट प्रवर्धन गर्दै आए पनि सङ्घीय सरकारले थप सहयोग गर्नुपर्ने भन्दै गाउँपालिकाले पहल गरिरहेको छ । गाउँपालिकाले आफ्नो गाउँपालिकालाई धार्मिक पर्यटनको हब बनाउन पहलसमेत गरिरहेको छ । जसका लागि सङ्घ सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेमा यहाँ बर्सेनि लाखौँ पर्यटक भित्र्याउन सकिने पालिकाको विश्वास छ । 

हाल गाउँपालिकाले ती गन्तव्यमा पुग्ने बाटो र प्रचारमा ध्यान दिएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । साथै बागमतीमा रहेको चमेरो गुफा पुग्ने बाटो पनि महाङ्कालकै क्षेत्रमा पर्ने भएको हुँदा सो पदमार्गको स्तरोन्नतिका लागि बजेट व्यवस्था गर्न सङ्घ सरकारले प्राथमिकता दिनुपर्ने स्थानीयवासीको माग छ । यस क्षेत्रको महत्वबारे व्यापक प्रचारप्रसार र आकर्षक प्याकेज ल्याउने हो भने एकदिने धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ । यसबारे सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पहल गरिरहेको छ । स्थानीय सरकारको यो अभियानमा सङ्घले गम्भीरतासाथ लगानी गर्ने हो भने आन्तरिकसँगै बाह्य पर्यटकका लागि यो क्षेत्र धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य बन्न सक्छ ।    

Author

विवश कुलुङ