• २४ पुस २०८१, बुधबार

वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

blog

राष्ट्रिय परिचय पत्र वितरण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी शर्मा । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, भदौ २८ गते । ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले ऐरावती गाउँपालिकाको समन्वयमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो ।  

विहीबार १ र २ नम्वर वडामा परिचयपत्र वितरण गरिएको छ । शनिबारसम्म सबै वडाबाट परिचयपत्र वितरण गर्ने कार्ययोजना रहेको छ । सेवा प्रवाहलाई छिटो, छरितो बनाउन वडाबाटै वितरण गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताउनुभयो । 

“भौगोलिक अवस्थितिलाई ध्यानमा राखी यो कार्यको सुरुवात गरेका हौँ,” शर्माले भन्नुभयो, “यसले गर्दा समय र पैसाको बचत हुने विश्वास लिएको छु ।” 

जिल्लाका अन्य स्थानीय तहमा पनि स्थानीय तहसँग समन्वय गरेर यो कार्यलाई निरन्तरता दिने उहाँको भनाइ छ । वडास्तरमा पुगेर परिचयपत्र वितरण गर्दा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय प्युठानमा आर्थिक वर्ष २०८०-०८१ मा १७ हजार नौ सय ३८ जनाले राष्ट्रिय परिचय पत्रका लागि फाराम भरेका थिए ।