• २१ पुस २०८१, आइतबार

झापामा पूजाको प्रसाद खाँदा ८० जना बिरामी

blog

झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर बिरामी भएकाकाे उपचार हुँदै ।

लीलाराज खड्का 

बिर्तामोड, भदौ २७ गते । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर 'फुड पोइजन' हुँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ । हालसम्म शनिश्चरे नगर अस्पतालमा ७३, बीएण्डसी अस्पतालमा ४ र मनमोहन अस्पतालमा ३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्ना हुन थालेको र नयाँ बिरामीहरू पनि थपिएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले बताउनुभयो ।  शनिश्चरे अस्पतालका ७३ जना बिरामीमध्ये चार जनालाई प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

अर्जुनधारा ९ स्थित खरबन्दीमा मङ्गलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई वान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । 

बिरामी हुनेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । के भएर यति धेरै जना बिरामी परे भनेर अनुसन्धान गर्न पाँच जनाको रगत र दिशा परीक्षण गर्न पठाएको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताउनुभयो ।