• २६ पुस २०८१, शुक्रबार

तनहुँमा ४३ जनाले लिए गैर आवासीय नागरिकता

blog

अमरराज नहर्की

तनहुँ, भदौ २५ गते । तनहुँमा ४३ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । नौ महिला र ३४ पुरुषले गैरआवासीय नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा सो सङ्ख्यामा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् । सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण-नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता–नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था छ । 

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वि.स.२०८० साल जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण तथा भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको थियो । प्रजिअ गौतमले भन्नुभयो, "गैर आवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्त दिनहुँ कार्यालयमा आउने गरेका छन् ।" 

यसैगरी तीन पुरुष र एक महिला गरी चार जनाले नेपाली नागरिकता त्याग गरेको कार्यालयले जनाएको छ ।