• १३ मंसिर २०८१, बिहिबार

पिपरा गाउँपालिका पूर्ण विद्यालय भर्ना पालिका घोषणा

blog

पूर्ण विद्यालय भर्ना पालिकाको घोषणा सभा कार्यक्रम ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, भदौ २५ गते । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकालाई पूर्ण विद्यालय भर्ना पालिका घोषणा गरिएको छ । पालिकामा रहेको ७ वटै वडाका विद्यालय भर्ना हुने उमेरका बालबालिकाहरु विद्यालयमा भर्ना भएको भन्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारी तथा जिल्ला समन्वय समिति महोत्तरीले पूर्ण विद्यालय भर्ना पालिका घोषणा गर्नुभएको हो । 

पाँच वर्षदेखि १२ वर्ष उमेरका विद्यालय जाने बालबालिकाहरु विद्यालयमा पुगेपछि पालिकालाई पूर्ण विद्यालय भर्ना पालिका घोषणा गरिएको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले बताउनुभयो । उहाँले पालिकामा रहेको १७ वटा अपाँङ्गता भएका बालबालिकाहरु बाहेक सबै बालबालिकाहरु विद्यालयमा भर्ना भएको बताउनुहुँदै शिक्षा क्षेत्रमा पिपरा गाउँपालिकाहरुले गरिरहेको प्रगतिले खुशी बनाएको बताउनुभयो ।

सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको साझेदारीमा सञ्चालित “समुन्नति“ कार्यक्रम अन्तर्गत पालिकाका ५ देखि १२ वर्ष उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरिएको हो । अपाङ्गता भएका १७ जना बालबालिकाबाहेक सबै विद्यार्थी विद्यालयमा भर्ना भएपछि पालिकाका ७ वटै वडामा पूर्ण भर्ना घोषणापश्चात पालिकालाई पूर्ण भर्ना घोषणा गरिएको हो । 

पालिकामा रहेको २१ विद्यालयहरुमा यस वर्ष विद्यालय भर्ना अभियान पश्चात पनि २८१ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको फेला परेपछि ५ वर्ष देखि १२ वर्ष उमेर समुहका कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु गरिएको थियो । विद्यालय बाहिर रहेका बालबालिकाका अभिभावकहरुसँग समन्वय तथा सम्पर्क गरी वडास्तरका टोलीहरुले आ–आफ्ना वडाहरुमा विशेष कारणवश (अपाङ्ताभएका) विद्यालय जान नसक्ने जम्मा १७ जना बालबालिकाबाहेक बाँकी रहेका सबै २६४ बालबालिकाहरुलाई विद्यालय भर्ना गराउन सफल भएको रतौली युवा क्लवका कार्यक्रम संयोजक पुजनारायण साहले बताउनुभयो ।

पिपरा गाउँपालिकालाई पूर्ण विद्यार्थी भर्ना घोषणा गर्नुहुँदै मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले यस अभियानले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै गाउँपालिकाको शैक्षिक विकासमा ऐतिहासिक योगदान पु¥याएको बताउनुभयो । उहाँले यस्ता अभियानहरु अन्य पालिकाहरुले पनि अगाडी बढाउनुपर्नेमा जोड दिनुहुँदै बालबालिकाहरुलाई विद्यालयमा लग्नु सबैको कर्तव्य भएकोले आ–आफ्नो ठाउँबाट सबैलाई योगदान गर्न आग्रह गर्नुभयो । 

पिपरा गाउँपालिकाको अध्यक्ष रामजानकी यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा महोतरी जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रेविका आमात्य, सेभ द चिल्ड्रेनका प्रतिनिधिहरु नरमाया थापा, देवेन्द्र प्रसाद यादव र रतौली युवा क्लवका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री तिवारीले पिपरा गाउँपालिका वडानं. ३ का १३ जना बालबालिकाहरुलाई झोलासहित अन्य शैक्षिक सामग्री समेत वितरण गर्नुभएको थियो ।